1100×100 Nabil Advert

सहकारी बैंकमा तरलता प्रशस्त

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा ४३.२६ प्रतिशत तरलता रहेको पछिल्लो तथ्यांकले देखाएको छ । नयाँ बर्ष २०८१ का अवसरमा शुभकामना सन्देशसहित जारी गरेको तथ्यांकमा ४३.२६ प्रतिशत तरलता रहेको उल्लेख गरेको छ । सार्वजनिक तथ्यांक अनुसार सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १६ हजार २९३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ८८२ रहेको छ ।

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी दुई अर्ब ८० करोड माथि रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ७३ लाख, कुल बचत ५९ अर्ब १३ करोड ५३ लाख, ऋण लगानी २८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ रहेको छ । हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम २५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब ४७ करोड ३१ लाख, विभिन्न कोषको जम्मा रकम १७ करोड ९६ लाख र कुल सम्पत्ति ६७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

वित्तीय जवाफदेहीता र पारदर्शिता आफ्नो पहिलो प्राथमिकता भएको जनाएको बैंकले नियामकीय अनुपालना, वित्तीय जबाफदेहिता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्र्तनिहित जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी कार्यसम्पादन गरेको जनाएको छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले हरेक महिना तोकिएको मापदण्ड बमोजिम पेस भएको तथ्याङ्कका आधारमा गैरस्थलगत निरीक्षण गर्नुको साथै नियमितरूपमा स्थलगत सघन अनुगमन गर्दै आएको भन्दै वर्ष २०८० मा सहकारी विभाग र राष्ट्र बैंकबाट संयुक्त रूपमा स्थलगत अनुगमन भएको र वर्ष २०८० सहकारी अभियान तथा बैंकका लागि चुनौतीपूर्ण वर्षको रूपमा रहेको उल्लेख गरेको छ ।
राष्ट्रिय सहकारी महासंघले गठन गरेको अनुगमन टोली, बैंकको लेखा सुपरिवेक्षण समिति, आन्तरिक लेखा परीक्षक र बाह्य लेखा परीक्षकबाट समेत बैंककोे नियमित अनुगमन तथा निरीक्षण हुँदै आएको उल्लेख गरेको हो । बाह्य अर्थतन्त्रमा देखा परेको संकटका कारणले सहकारी क्षेत्रमा अत्यधिक दबाब पर्न जाँदा सहकारी अभियानले विश्वास आर्जनका लागि कठिन अवस्थामा भएपनि आफनो सदस्यलाई दिने सेवामा कुनै कमि नराखेको बताइएको छ ।

सहकारी विभाग र नेपाल राष्ट्र बैंक सहितको नियमनमा रही नियमनकारी निकायले तोकेका नियामकिय निर्देशन तथा सघन अनुगमनका निर्देशनहरु पूर्णरूपमा पालना गर्दै संस्थागत सुशासन कायम गर्ने सवालमा बैंकले शून्य सहनशीलताको नीति अङ्गीकार गरेको सन्देशमा भनिएको छ ।
त्यसैगरी बैंकलाई यो अवस्थामा पुर्‍याउने योगदान दिनुहुने सम्पूर्ण सदस्य सहकारी संघ–संस्था लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्दै मुलुकको समग्र अर्थतन्त्रको शिथिलताको असर सहकारी क्षेत्रमा समेत परेको अवस्थामा समेत सरोकारवाला निकायको साथ, सहयोग र सुझाबले बैंकको वित्तीय सूचक सन्तोषजनक रहेको जनाएको हो ।

 

प्रकाशित समय १८:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु