भारतीय लगानीका कम्पनीहरूले नेपालमा राम्रो प्रतिफल आर्जन गरिरहेका छन् : सिइओ भट्ट
काठमाडौं । भारतीय लगानीका कम्पनीहरूले नेपालमा राम्रो प्रतिफल आर्जन गरिरहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले बताउनुभएको छ । भारतस्थित नेपाली दूतावासको आयोजनामा नयाँ दिल्लीमा ‘प्रि-नेपाल इन्भेष्टमेन्ट समिट २०२४ : इण्डष्ट्रि आउटरिच मिट’ आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ भट्टले सो कुरा बताउनुभएको हो । आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा मित्रराष्ट्र भारतका सम्भाव्य लगानीकर्ता र उद्यमी, व्यवसायीसँग लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सघन अन्तर्क्रिया गर्नुभयो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले सम्भाव्य लगानीकर्तालाई दिनुभएको भिडियो सन्देशका साथै लगानी सम्मेलनसम्बन्धी प्रवर्धनात्मक सामाग्रीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतका लागि नेपालका राजदूत डा.शंकरप्रसाद शर्माले भारत नेपालको प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत मुलुक रहेको भन्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गरी लाभ लिने प्रशस्त अवसर रहेको बताउनुभयो । उहाँले जलविद्युत, आइसीटी, पर्यटन, कृषि प्रशोधन, म्यानुफ्याक्चरिङलगायत सबै क्षेत्रमा लगानी गर्न खुला रहेको भन्दै लगानी सम्मेलनलाई नेपाल सरकारले व्यावसायिक वातावरण सुधार गरी प्रतिस्पर्धी लगानी गन्तव्यका रूपमा विकास गर्न भएका प्रयासहरूबारे जानकारी गराउने र लगानीकर्ताको सुझावअनुसार व्यवसाय गर्ने प्रक्रियामा सरलीकरण गर्ने, अवरोधहरू हटाउने प्रतिवद्धता गर्ने मञ्च भएकाले लगानी सम्मेलनमा सहभागी भई नेपालमा लगानीका अवसर पहिल्याउन भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाल बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा भारतीय लगानीका विभिन्न परियोजनाहरूको चर्चा गर्नुहुँदै नेपाल सरकार र लगानी बोर्डबाट प्रभावकारी सहजीकरण भइरहेको बताउनुभयो । सार्वजनिक-निजी साझेदारीका परियोजनाहरूमा परियोजना विकास सम्झौताले कानूनी दस्तावेजकै रूपमा सरकार र विकासकर्ताका जिम्मेवारी परिभाषित गर्ने हुँदा यसमा उल्लिखित विहंगम विषयवस्तुले परियोजना कार्यान्वयन र सञ्चालनलाई निर्दिष्ट गर्ने बताउनुभयो ।
उहाँले भारतीय लगानीका कम्पनीहरूले नेपालमा राम्रो प्रतिफल आर्जन गरिरहेको भन्दै पुनर्लगानीका लागि आएका प्रस्तावहरूलाई स्वागत गर्नुका साथै अन्य लगानीकर्तालाई पनि पुनर्लगानीका लागि उत्प्रेरित गरिरहेको बताउनुभयो । लगानी सम्मेलनमा भारतबाट ठूलो संख्यामा उद्यमी व्यवसायीहरूको सहभागिता रहने जानकारी प्राप्त भएको भन्दै स्वागत गर्न आतुर रहेको उल्लेख गर्नुभयो ।
नेपालका लागि भारतीय पूर्व राजदूत रणजीत रायले कानूनी सुधारले लगानीकर्तालाई अनुमानयोग्यता र पारदर्शिता प्रदान गर्ने भन्दै उहाँले लगानीसम्बन्धी कानून सुधारका लागि नेपालले गरेको पहलको प्रशंशा गर्नुभयो । उहाँले बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धी कानूनसमेतलाई समयसापेक्ष बनाउन सुझाव दिनुभयो । अर्का पूर्व राजदूत मञ्जीवसिंह पुरीले साना मझौला उद्यमदेखि ऊर्जा क्षेत्रसम्म भारतीय लगानीकर्ताहरूको ठूलो लगानी रहेको चर्चा गर्नुहुँदै नेपालको द्रूत आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विषय सरकारको प्राथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो ।

भारतको पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूतद्वय रञ्जित रे तथा मञ्जिवसिंह पुरीका साथै सुनिल हेल्थ केयर लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अनिल खेतान, सिनर्जी इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक अजय पोद्दार, वेदान्ता लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वैभव अग्रवाल, भारतका लागि सीएलएएसपी वरिष्ठ निर्देशक विशाल थापा, वल्र्ड एशोसिएसन अफ इन्भेष्टमेन्ट प्रोमोशन एजेन्सीज (वाप) का उपकार्यकारी निर्देशक दुश्यन्त ठाकुर, केपीएमजीका नेशनल लिड मोहित भासिन, सीएल एजुकेट लिमिटेडका सत्य नारायण आर, दर्पण सक्सेना तथा सुजाता क्षीरसागर, बरुण वेभरेजका प्रबन्ध निर्देशक कमलेश जैन, नेपाल एसबीआई बैंक पूर्व प्रबन्ध निर्देशक अनुकुल भट्नागर, एसबीआई क्यापिटल मार्केटका महाप्रबन्धन मोहित अनेजा, एनएचपीसीका कार्यकारी निर्देशको दीपक सैगल, एल ओपेराका कार्यकारी अध्यक्ष काजेम समान्दरी, आग्को इक्विपमेन्ट इन्टरनेशनलका प्रबन्ध निर्देशक जितेन्द्र अग्रवाल, अपीजय सत्या एण्ड सभ्रान ग्रुपका वरिष्ठ उपाध्यक्ष विवेक सैगल, हिन्दूस्तान टेकका प्रबन्ध निर्देशक सञ्जीव प्रीत, द सेज ग्रुपका प्रबन्ध निर्देशक साक्षी अग्रवाल, भारतीय होटल तथा रेष्टुरेन्ट महासंघका महासचिव जैसन चाको, फेडेरेशन अफ इण्डियन इन्डस्ट्रीजका नेपाल च्याप्टर संयोजक वेद शर्मा, स्टोन रोड्स इन्टरनेशनल प्रालिका सिनियर टेक्निकल अफिसर अपूर्व आनन्द लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली राजदूतावास नयाँ दिल्लीका इकोनोमिक मिनिष्टर तारानाथ अधिकारी तथा अन्य उच्च पदस्थ कर्मचारीहरूका साथै लगानी बोर्डको कार्यालयका उच्चपदस्थ कर्मचारीहरू र परामर्शदाताहरूको सहभागिता रहेको थियो ।
प्रकाशित समय २०:०३ बजे




















