प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सहज विद्युतीय भुक्तानीका लागि सम्झौता
काठमाडौं । गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहजरुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक-वित्त तथा अन्य गेट-वेमार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता भएको छ ।
उक्त सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसाय प्रालिको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उक्त कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआरमार्फत् विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । गण्डकी ट्याक्सी व्यवसाय प्रालिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकहरुलाई उपलब्ध गराइने कार्यक्रम रहेको छ ।
कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्युआर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्रसहित चेतनामूलक सामाग्री प्रस्तुती गरिएको थियो । पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको उल्लेख गरेको छ ।
प्रकाशित समय १८:४० बजे






















