1100×100 Nabil Advert

‘एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक’ अन्तर्गतको भुक्तानी पाएपछि काममा फर्किए निर्माण व्यवसायी

बागलुङ । गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिंडेका ठेकेदार काममा फर्किएका छन् । दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका चार ठूला सडक निर्माणले पुनः तीव्रता पाउने भएका छन् । सडक डिभिजन कार्यालय बागलुङ मातहतमा निर्माण भइरहेका साविक धौलागिरी अञ्चलका तीन जिल्लाका चार ठूला सडक कालोपत्रको जिम्मा पाएका ठेकेदारले भुक्तानी पाएसँगै कामलाई तीव्रता दिएका हुन् ।

एक अर्ब १९ करोड रकममा छुट्टाछुट्टै मितिमा सम्झौता भएका ‘एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक’अन्तर्गतका चार सडक निर्माणले गत वर्षको भुक्तानी पाएपछि गति लिन थालेको हो । बागलुङ क्षेत्र नं. १ अन्तर्गत पर्ने बजार-सिगाना-चापाखर्क-शान्तिपुर जोड्ने सडक र म्याग्दीको रत्नेचौर-ज्यामरुककोट-भकिम्ली हुँदै बराङ्जा जाने सडकको गत वर्षको मात्रै सात करोड १२ लाख ४७ हजार भुक्तानी गर्न बाँकी थियो । सिगानाको तीन करोड ३१ लाख तीन हजार र म्याग्दी सडकको तीन करोड ८१ लाख ४४ हजार भुक्तानी गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुरानो रकम भुक्तानी पाएसँगै निर्माण व्यवसायी काममा फर्केर सडकको पहिरो हटाउने, बिग्रे-भत्केको मर्मत गर्ने काममा जुटेका हुन् ।

बागलुङ क्षेत्र नं. २ अन्तर्गत पर्ने हरिचौर बजार, मल्म, पाण्डवखानी-रमुवा-रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक र मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका-२, ३, ४ र ५ मा पर्ने छयो, कुन्जे, टिटी, धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा समेत कामले तीव्रता पाउने भएको छ ।

ठेक्कामा गएर कामले गति लिएका सडकमा बजेट अभावले करिब आठ महिना ढिलाइ भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख अनुक्षा घिमिरेले बताउनुभयो । उहाँका अनुसार गत वर्षको दायित्व भुक्तानी भएसँगै निर्माण व्यवसायी काममा फर्किएका छन् । घिमिरेका अनुसार अर्थ मन्त्रालयले दायित्व भुक्तानीका लागि बजेट थप गरेपछि तीन जिल्लाका चार ठूला सडकले तीव्रता पाउने भएका छन् ।

‘बागलुङका दुई, म्याग्दी र मुस्ताङ्को एक–एक सडकका लागि चालु आवमा चार करोड बजेट आएको थियो । एक अर्ब १९ करोडमा सम्झौता भएको सडकमा जम्मा एक-एक करोड बजेट आएको थियो । सडकको भुक्तानी मात्रै सात करोड बढी भएकाले निर्माण व्यवसायीलाई ताकेता गर्न सकेका थिएनौं’, डिभिजन प्रमुख घिमिरेले भन्नुभयो, ‘निरन्तरको ताकेताले दायित्व भुक्तानी गर्न सफल भयौं । निर्माण व्यवसायीले कामलाई तिव्रता दिएसँगै आगामी असार मसान्तसम्म सिगाना, म्याग्दीको सडक कालोपत्रका लागि तयारी हुनेछ ।’ बागलुङको मल्म र मुस्ताङको सडकको ५० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

संघीय सरकारअन्तर्गत वि.सं. २०७९ मा शुरु भएका तीन जिल्लाका चार ठूला सडकअन्तर्गत बागलुङबजार अदालत चौपारी-सिगाना-चापाखर्क-गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको हालसम्म ४८ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ । दश १० किमी उक्त सडक कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजारमा सम्झौता भएको थियो ।
बागलुङ क्षेत्र नं. २ अन्तर्गत हरिचौर बजार, मल्म, पाण्डवखानी-रमुवा-रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक विसं २०७९ मा रु २५ करोड २० लाखमा सम्झौता भएको थियो । उक्त सडकमा हालसम्म १८ प्रतिशत भौतिक प्रगति भएको छ ।

त्यस्तै म्याग्दीको रत्नेचौर-ज्यामरुककोट, भकिम्ली हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण अन्य तीन सडकको तुलनामा सबैभन्दा बढी रहेको छ । करिब ४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीले गत वर्षको मात्रै तीन करोड ८१ लाख ४४ हजार भुक्तानी अहिले पाएको डिभिजन प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

मुस्ताङको लेतेस्थित थासाङ गाउँपालिका-२, ३, ४ र ५ मा पर्ने छयो, कुन्जे, टिटी, धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षमा कालोपत्र गर्नेगरी ३८ करोड ८८ लाख ६१ हजारमा निर्माण व्यवसायीसँग सम्झौता भएको थियो ।

प्रकाशित समय १७:०३ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु