MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

देश सीमित मान्छेहरुको हातमा छ : पूर्वप्रहरी महानिरीक्षक खनाल

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कान्तिपुर दैनिकले आफूलाई सुन तस्करी प्रकरणमा अनावश्यकरुपमा नाम जोडेर समाचार लेखेको भन्दै मानहानीको मुद्दा हाल्ने बताएका छन् । उनले आफूले देश र जनताको लागि ३० वर्षे प्रहरी करियरमा राम्रोमात्रै काम गरेको दाबी गरे । राजधानीमा सञ्चारकर्मीहरुमाझ खनालले न्यायिक छानविन आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गलत समाचार लेखेको भन्दै दुःखेसो पोखे । उनले कान्तिपुरको भ्रमपूर्ण समाचारले आफूमाथि मानसिक दबाब र मानवअधिकारको पनि हनन भएको दाबी गरे ।

उनले आफूसँग नाम जोडिएका व्यक्ति जीवन चलाउनेलाई आफूले नचिनेको पनि स्पष्ट पारे । उनले भने, ‘न मैले चलाउने भन्नेलाई चिनेछु, म सक्याउनेलाई नै चिनेछु । प्रमाणहरु छन् भने अनसुन्धान गर्नुहोस् । ३० वर्ष प्रहरी सेवामा निष्ठापूर्वक काम गरेको छु । देशप्रति र नागरिकप्रति त्यही सोच र विचार छ । किन यसरी प्रहार हुन्छ ?’

उनले आफूले कान्तिपुर दैनिकलाई माओवादी द्वन्द्वको बेलामा पनि प्रोटेक्ट गरेको विगत स्मरण गराए । उनले भने, ‘२०६३ सालमा कान्तिपुरमा एट्याक भयो । मैले प्रेस फ्रिडमको पक्षमा लडें । प्रेसलाई सुरक्षित गर्नुपर्छ भनेको हो नि । मैले त त्यतिबेला कान्तिपुरको वितरणमा समेत सहयोग गरें । म आईजी हुँदा पनि कान्तिपुरले गलत समाचार छाप्यो । मैले गलत समाचार किन छापेको भनेर सुधिर शर्मालाई भनेको थिएँ । उहाँले गल्ती भयो भनेर खण्डनको लागि भन्नुभएको थियो । तर, मैले खण्डनभन्दा पनि रिपोर्ट प्रकाशन गर्दा गल्ती भयो भनेर लेख्नुहोस् भनेको थिएँ ।’

उनले आफूलाई सांसद अपहरण गर्‍यो भनेर पनि बद्नाम गरिएकोमा आपत्ति जनाए । उनले भने, ‘बर्दिवासबाट सांसद अपहरण भयो भनेर कुरा आयो । अपहरित हुने मान्छे यहाँ मन्त्री बन्छ र ? खुशीको साथ आएको थियो । ममाथि प्रहार भयो । त्यतिबेला झुठा उजुरी भनेर दर्ता पनि भएन । बाबुराम भट्टराईहरु निवेदन लिएर ठाउँ-ठाउँमा चाहार्नुभयो । अपहरणमा संलग्न भएको भनेर फोटोसहित राखे । सिसिटिभी फुटेज सबै छ । होइन भनेर मैले सार्वजनिकरुपमा राखेको छु । सरकारी वकिलको कार्यालयले पनि अपहरण भनेन । मैले यो कुरा पनि बुझेको छैन ।’

उनले आज कान्तिपुर दैनिकमा आफ्नो नाम र फोटो जोडेर सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरामा ल्याइन भनेर लेखिएको समाचारमा आपत्ति जनाए । उनले भने, ‘एमालेले माग गरेको कारण न्यायिक आयोग गठन भयो । आयोगमा स्वतन्त्र रुपमा सबैतर्फका विज्ञ बसेर काम भयो । अनुसन्धान पनि दुई पटक म्याद थप भएर सम्पन्न भएको हो । अब केही देखिएन । मैले के गर्ने ? म अपराधी बनेर बस्दिनुपर्ने कान्तिपुरलाई राम्रो बन्न ? उहाँहरुलाई चित्तबुझ्नको लागि ।’

उनले आफू छोरीहरुको अध्ययनको लागि अमेरिका पुग्दा पनि भाग्यो भनेर समाचार आएकोमा आपत्ति जनाए । उनले भने, ‘म अमेरिका गएँ, छोरीहरु एउटा डाक्टर, अर्को लयर पढाउनको लागि गएको थिएँ । टिकट अलिक महँगो भएर बसाई लम्बिएको बेला सर्वेन्द्र त भाग्यो अरे भनेर समाचार आयो, यहीं डाका, तस्कर, फटाहा, चोर अपराधीलाई ठाउँको ठाउँ कारबाही गरेको सर्वेन्द्र यो देश छोडेर भाग्छ ? मैले त्यतिबेला टिकट प्रि-पोण्ड गरेर काठमाडौं आएँ ।’

उनले आफू आईजिपी हुँदा तस्करी नियन्त्रण गरेको भनेर पुरस्कृत भएको पनि स्मरण गराए । उनले भने, ‘तस्करी नियन्त्रण गरेको भनेर म पुरस्कृत भएको छु । कोही कसैसँग चिया खाएको छैन । केही लिएको छैन । अनि मलाई तस्करसँग जोडाउन किन लालायित हुन्छ ?’

आफूले एमालेका नेताहरु कसैलाई पनि आफूमाथि अनुसन्धान नगर भनेर नभनेको जिकिर गरे । यदि आफूले कसैलाई भनेको भए प्रमाणित गर्न पनि उनले चुनौती दिए । उनले कान्तिपुरको समाचारविरुद्ध आफूले प्रेस काउन्सिलमा उजुरी पनि दिएको सुनाए । उनले भने- ‘सम्बन्धित ठाउँमा मानहानीको मुद्दा दर्ता पनि गर्नेछु । यो देश सीमित मान्छेहरुको हातमा छ । जसले केही गर्न खोज्यो, त्यसलाई प्रहार गरिन खोजियो । बालुवाटार जग्गा घोटाला काण्डमा पूर्वप्रधानमन्त्रीहरुको पनि नाम किटान गरेर सिआईबीमार्फत गृहसचिवलाई प्रतिवेदन बुझाएको व्यक्ति हुँ ।’

आफूले यो प्रकरणमा सिआईबीदेखि कसैसँग पनि केही नभनेको खनालको जिकिर छ । उनले अहिले सुन तस्करी प्रकरणमा गठित छानबिन आयोगले बुझाएको प्रतिवेदनमा भएका सबैलाई कारबाही गर्नुपर्ने माग गरे । उनले भने- ‘तिनीहरुलाई कारबाही नगरिए बाटोमा लतारिएर कारबाही गर्नुपर्छ । दिस ईज टु मच ।’ उनले अब आयोगको प्रतिवेदन आइसकेपछि दोषीहरुलाई कारबाही गर्न गृहमन्त्रीलाई अब के सोधिरहनुपर्छ र ? भन्दै फटाफट काम गर्न सुझाव दिए । उनले भने– ‘ममाथि गम्भीर लाञ्छना लाग्यो । यो तथ्यहीन, भ्रमपूर्ण र हुँदै नभएको कथाहरु बुनेर कान्तिपुर दैनिकले समाचार सम्प्रेषण गरेको छ । यसको मैले घोर भत्र्सना गरेको छु ।’

प्रकाशित समय २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु