सेक्युरेटी प्रिन्टिङ प्रेस, एमडिएमएस, टेरामक्सलगायतका प्रकरणमा व्यापक भ्रष्टाचार !
काठमाडौं । डाक्टर निकोलस भुसालले सेक्युरेटी प्रिन्टिङ–प्रेस, मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेरामक्समा व्यापक घोटला भएको सनसनीपूर्ण टिप्पणी गरेका छन् । राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा रहेका उच्चपदस्थ अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको दाबी गरे ।
टेरामक्स खरिद प्रक्रियालाई सर्वोच्च अदालतले कानूनसम्मत् रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउनु भनेर आदेश दिएको अवस्थामा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसलाई रोक्न चाहिरहेको उनले बताए । ‘टेरामक्स जोडिनेबित्तिकै कलको मोनिटर हुनेभयो । सबै कुरा मोनिटर हुने भएर यसलाई चल्न दिइएको छैन । टेरामक्सको मेसिन आइसकेको छ,’ उनले भने । सेक्युरेटी–प्रिन्टिङ प्रेसका लागि समेत ४ अर्ब बुझाइसकिएको उनले बताए । प्रिन्टिङ प्रेस नेपालमा ल्याएर राखिएको र काम चाहीं विदेशका अन्य कम्पनीलाई दिइराखिएको उनले बताए । सेक्युरेटी प्रिन्टिङ प्रेस र एमडिएमएसमा जनताको पैसा व्यापक दुरूपयोग भएको उनको दाबी छ ।
इन्जिनियर सञ्जोग नेपालीले नेपालका लागि सेक्युरेटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएस आवश्यक रहेको बताए । प्राइभेसीका हिसाबले सेक्युरेटी प्रिन्टिङ प्रेस अत्यावश्यक रहेको उनको भनाई छ । एमडिएमएसमार्फत फोनहरुलाई कन्ट्रोल नगरे विभिन्न अपराधहरुले बढावा पाउने उनको दाबी छ । टेरामक्स टेलिकम्युनिकेशनका लागि एकदमै आवश्यक रहेको उनको भनाई छ ।
पारदर्शिता, राजश्व र कल डिटेल, नेटवर्किङ मनिटरिङलगायतका विषयका लागि नेपालमा टेरामक्स प्रणाली आवश्यक रहेको उनको धारणा छ । युवा वैज्ञानिक कपिल पौडेल, अभियन्ता एसके तिमिल्सिना, डा.सागर ढकाललगायतले सेक्युरेटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएसको आवश्यकताबारे प्रष्ट पारेका थिए ।
प्रकाशित समय २०:५९ बजे






















