1100×100 Nabil Advert

पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

गोरखा । लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका-४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

घरबासका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत सत्कारसँगै स्थानीय उत्पादनका परिकार बनाएर खुवाउन सिकाउने उद्देश्यले गुप्सी नमूनाबस्ती सामुदायिक घरबासका सञ्चालकलाई सातदिने तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । “स्थानीय उत्पादनका पनि मीठा मीठा परिकार बनाएर पाहुनालाई सेवा गर्न सकिन्छ तर तालिमको अभाव समस्या हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “यो तालिमबाट घरबासमा आउने पर्यटकको मन कसरी लोभ्याउने भन्ने जानकारी प्राप्त गरेका छन् ।”

तालिममा १९ जनाको सहभागिता रहेको थियो । पाहुनाका लागि स्थानीय परिकारहरुमार्फत खुशी बनाउन सके स्थानीय उत्पादनको बिक्री पनि हुने र सञ्चालकले पनि राम्रो आम्दानी गर्न सक्ने भएकाले सीपमूलक तालिम प्रदान गरिएको उहाँको भनाइ छ । । तालिममा सहभागीहरुलाई गुप्सीपाखाको आलुका विभिन्न परिकारका बनाउन समेत सिकाइएको थियो । गुप्सीपाखाको आलु लोकप्रिय मानिन्छ ।

सहभागीलाई प्रशिक्षकहरु सुरेश बास्तोला र राजकुमार लामिछानेले तालिम प्रदान गर्नुभएको थियो । प्रशिक्षकहरुले घरबास सञ्चालकहरुलाई गुणस्तरीय खानाका साथै पाहुनाका लागि बसोबास व्यवस्थापन बारेमा समेत जानकारी प्रदान गरेका थिए । तालिमबाट घरबासको व्यवस्थापनका साथै नीतिगत बिषयमा समेत जानकारी प्राप्त गरेको गुप्सी नमूना होमस्टे सञ्चालक समितिका अध्यक्ष दलवीर गुरुङले जानकारी दिनुभयो ।

तालिम सञ्चालनका लागि गाउँपालिकाको ६४ प्रतिशत र नेपाल पर्यटन बोर्डको ३६ प्रतिशतको लागत साझेदारी रहेको थियो । तालिमको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । गोरखाको एक पर्यटक गन्तव्यका रुपमा रहेको लाप्राकमा रहेको एकीकृत नमूनाबस्ती हेर्न र त्यहाँको मनोरम दृश्यको अवलोकनका लागि पर्यटकहरु गुप्सीपाखा पुग्ने गर्दछन् । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना रहेको धार्चे गाउँपालिकाले घरबास प्रवद्र्धनलाई पनि जोड दिँदै आएको छ ।

प्रकाशित समय १०:४२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु