मंसिर २८ गतेदेखि हस्तकला व्यापार मेला हुने
काठमाडौं । नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ । यसअघि मुलुकको अवस्थाका कारण स्थगित मेला मंसिर २८ गते बुधबारदेखि पाँच दिनसम्म राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुनेछ । हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो । मेला मंसिर २८ गतेदेखि पुस २ गते (सन् २०२३ को डिसेम्बर १४ देखि १८) सम्म सञ्चालन हुनेछ ।
नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्धन गर्ने, प्रचार–प्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दैै आएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने मेलाको लक्ष्य रहेको छ ।
मेलामा हस्तकलाका वस्तुहरुको करिब १२५ वटा स्टलहरु रहने आयोजक नेपाल हस्तकला महासंघले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिने जनाइएको छ । जसअनुसार भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट सहभागिता रहने महासंघले जनाएको छ । व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा विक्रीमा रहने उनले बताए । ‘सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ,’ अध्यक्ष शाक्यले भने, ‘मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निशुल्क स्टल प्रदान गरिने छ ।’
मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’मा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ भने प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिने उल्लेख छ । मेलाको अवसरमा आर्थिक वर्ष २०७९/८० को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रवर्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुर्याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने उल्लेख छ ।
मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई चाँदीको फ्रेमसहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
मेलाकै सन्दर्भमा हस्तकलाका विविध बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार व्यवसायलाई प्रवर्धन गराउने उद्देश्यले महासंघको कला प्रदर्शनी समितिबाट कला प्रदर्शनी २०८० आयोजना गरिने जनाइएको छ । एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन हुने उल्लेख छ । यस्तै, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत साँस्कृतिक सम्पदाको उजागर गर्ने मेलाको लक्ष्य रहेको छ ।
मेलाबाट अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी ब्यबसायीले बिदेशी आयातकर्ताहरुसंग ब्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अबसर प्राप्त गर्न महासंघ अध्यक्ष शाक्य बताउँछन् । यसरी प्रत्येक वर्ष ब्यापार मेलाको आयोजना हुँदा उत्पादकहरुले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्न प्रेरित हुने तथा हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदान–प्रदान हुने उनको विश्वास छ ।
महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तुहरु वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कूल बजार २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको महासंघको दावी छ ।
प्रकाशित समय १७:१८ बजे





















