1100×100 Nabil Advert

दशैंमा नेपालगञ्जमा देखियो धार्मिक सहिष्णुताको नमूना

बाँके । सदभावको शहरले चिनिएको नेपालगञ्जमा बडादशैंको दिन मुश्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैंं मनाएका छन् । मंगलबार हिन्दूहरुको महान पर्व बडादशैंंका अवसरमा मुश्लिम अगुवाहरुले दशैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिंदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैंं मनाएका हुन् ।

बाँकेका मुश्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दशैंको टीका र जमरा लगाउनुभएको छ । उहाँले दशैं, तिहार, रक्षाबन्धन, होलीजस्ता चाडपर्व सधैं यसरी नै मिलेर मनाउने गरेको बताउनुभयो । ‘हामी सद्भावको शहरमा छौं । यो शहर आफैंमा एउटा धार्मिक परम्पराअनुसार मिलेको शहर हो । यहाँ मुश्लिमले हिन्दूहरुको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ’ उहाँले भन्नुभयो– ‘मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ । टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरु खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने ?’

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उहाँहरुसँग रमाउने गरेको बताउनुभयो । बाँकेमा हिन्दू र मुश्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ । सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दशैंमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ । उहाँले आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिनुभएको छ । सिद्धिकी वर्षौंदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आइरहनु भएको छ । पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उहाँको भनाइ छ । हिन्दूले मुश्लिमको चाडमा सहभागी हुने र मुश्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताउनुभयो ।

अर्का मुश्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दशैंमा टीका र जमरा लगाएर आशीर्वाद लिनुभएको छ । रहमान मियाँले दुबै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताउनुभयो । बडादशैंंका दिन मुश्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दशैंको शुभकामना दिनुभएको छ । एकताका र सद्भावका लागि दुबै समुदायका धर्म गुरुले संयुक्तरुपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गर्नुभएको छ ।

 

प्रकाशित समय १८:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु