सिकेको सीपबाटै स्वरोजगार र अर्थोपार्जन गर्दै सुमन
भोजपुर । सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्नसक्ने वातावरण पनि तयार हुन्छ । तुलनात्मकरूपमा हेर्ने हो भने सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न सकिन्छ । खास गरेर युवावर्गलाई सवारी साधन चलाउन सिक्ने बढी चाहना हुन्छ तर भोजपुरवासीलाई सवारी साधन चलाउन सिक्न भने त्यति सहज छैन । उनीहरुलाई सवारी साधन चलाउने सीप आर्जन गर्न जिल्ला बाहिरका शहरमा जानुपर्ने बाध्यता छ । यसरी सीप लिनको लागि बाहिर जाँदा धेरै खर्च हुन्छ ।
भोजपुरवासीले भोगेको दुःखलाई ध्यानमा राखेर वैदेशिक रोजगारीबाट फर्किनुभएका युवा सुमन प्रधानले आफू स्वरोजगार बन्ने र अरुलाई पनि स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले ड्राइभिङ सेन्टर सञ्चालन गरेपछि स्थानीयवासीलाई सहज भएको छ । विदेशमा दुई वर्ष बिताएर आउनुभएका उहाँले सीपको अभावमा मलेशियामा नेपालीले पाएको दुःख देख्न नसकेर आफ्नै गाउँमा फर्केर पहिलो पटक यो काम शुरु गरेको बताउनुभयो ।
‘मानिसलाई सहजरुपमा जीवनयापन गराउने आधार नै सीप हो’ उहाँले भन्नुभयो, ‘सीप भएको मानिसले जहाँ पनि आफ्नो क्षमता देखाएर खानसक्छ । विदेशमा पनि सीपका कारण धेरैले दुःख पाएको देखें । त्यहाँका नेपालीले भोगेको दुःख बुझेरै सवारी साधन चलाउने सीप प्रदान गर्दै आएको छु ।’ योसँगै आफूले टेम्केमैयुङ–२ कृषि समूह गठन गरेर छिनामखुमा व्यावसायिकरूपले सुन्तला खेतीसमेत गर्दै आएको व्यवसायी प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेरो अगुवाइमा कृषि समूह गठन गरेर अरुलाई पनि यसमा समेटेको छु । विदेशमा गएर दुःख गर्नुभन्दा यही नै फरकढङ्गले काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’
कृषिबाट बाँकी रहेको समय सदुपयोग गर्दै व्यवसायी प्रधानले पाँच वर्षअघिदेखि पाथीभरा ड्राइभिङ सेन्टर खोलेर स्थानीयवासीलाई दुई पांग्रे्र, तीन पांग्रे र चार पांग्रे सवारी साधन चलाउन सिकाउँदै आउनुभएको छ । ‘विदेशमा धेरै दुःख गरियो । त्यहाँ गर्ने मेहनत यहीं गर्ने हो भने राम्रो आम्दानी हुने रहेछ’ व्यवसायी प्रधानले भन्नुभयो– ‘आफ्नै ठाउँमा फरक केही काम गरेर उदाहरणीय बनौं भनेर जिल्लामै पहिलो पटक यो काम थालेको हुँ । मैले सीप सिकाएका धेरै जना आफैं स्वरोजगार बनेर काम गरिरहेका छन् । यहाँ सीप सिकेर वैदेशिक रोजगारीमा गएका दुई जनाले ड्राइभिङ गरेर राम्रो तलब खाँदैछन् ।’
भोजपुर नगरपालिका–५ मा वार्षिक रु ७५ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर सीप सिकाउँदै आएको तर यो सेन्टर सञ्चालन गरे पनि त्यसलाई धान्न भने समस्या रहेको उहाँको भनाइ थियो । उहाँको भनाइ थियो । ‘सीप लिनका लागि स्थानीयवासीलाई धेरै खर्च गरेर बाहिर जानुपर्ने समस्या अन्त्य भएको छ’ प्रधानले भन्नुभयो, ‘तर सानो ठाउँ भए पनि व्यवसाय धान्न भने निकै सकस भएको छ । यस्ता सीपमूलक काम गर्ने मानिसलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।’ हालसम्म जिल्लाका सात सयभन्दा बढीलाई सवारी साधन सञ्चालनसम्बन्धी सीप दिलाउनुभएका प्रधानले भोजपुरजस्तो सानो ठाउँमा सञ्चालन गर्नुभएको यो व्यवसायबाट आफूले पनि सीप सिक्न पाउँदा खुसी लागेको अरुण गाउँपालिकाका युवा सचिन भुजेलले बताउनुभयो ।
आफ्नै ठाउँमा सीप सिक्न पाउँदा धेरै खर्च गरेर धरान, इटहरी, विराटनगरलगायत शहरमा जानुपर्ने बाध्यता हटेको र यही सीप सिकेर अहिले आफू स्वरोजगार बनेको उहाँको भनाइ थियो । ‘जिल्लामै सीप सिकेर स्वरोजगार बनेको छु’ सचिनले भन्नुभयो, ‘सीप सिकेर अहिले गाउँपालिकाको गाडी चलाउँदै आएको छु । आफ्नै ठाउँमा सीप लिन नपाएको भए यो सम्भव थिएन । सीपले मलाई जीवन गुजारा गर्न सहज बनेको छ । मजस्ता धेरै साथीले आफ्नो खाएर घर पाएकमै सीप लिन पाएका छौं ।’
प्रकाशित समय १८:०२ बजे



















