तीनकुने सामुहिक हत्याकाण्डका आरोपी सार्वजनिक : घटनापछि भागेर साथीको घरमा पुगेका थिए आरोपी
काठमाडौं । प्रहरीले तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिषर टेकुले पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भएका सञ्जय भण्डारीलाई हत्या आरोपमा आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरिएको जनाएको छ ।
तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोलास्थित आफ्नो साथीको घर पुगेका थिए । राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र छिरेको र त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
प्रहरीले सीसीटीभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको जनाएको छ । शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । घटना भएकै दिन प्रहरीले एक युवकलाई पक्राऊ गरेको थियो । तर घटनामा उनको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।
प्रकाशित समय २०:३७ बजे





















