प्राइम बैंकको सिइओमा संजिव मानन्धर नियुक्त
काठमाडौं । प्राइम कमर्सियल बैंककाे रिक्त प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धरलाई नियुक्त गरेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भयो । शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै लामो समयदेखि यस बैंकमा आबद्ध नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शुभकामना व्यक्त गर्नु भयो ।
स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत संजीव मानन्धर यस अघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा हुनुहुन्थ्यो । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गर्नु भएका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसक्नु भएको छ ।
प्रकाशित समय १४:४४ बजे





















