संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने
काठमाडौं । सभामुख देवराज घिमिरेले, संसदीय समितिका सभापति निर्वाचनको मिति तोकेका छन् । प्रतिनिधिसभा सञ्चालन हुन थालेको झण्डै ८ महिनापछि यसअन्तर्गत रहेका मिनि संसद् भनिने संसदीय समितिले नेतृत्व पाउने भएको छ ।
बिहिबार सभामुख देवराज घिमिरेले प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि रिक्त रहेका सबै समितिको सभापतिको निर्वाचन कार्यक्रम तय गरेका हुन् । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तोकिएको छ । संसद् बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन गरिएको थियो । तर, संसदीय समितिमा सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएको छ ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् । समितिहरुमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफललगायतका विषय प्रभावकारी हुन सकेको छैन् ।
प्रकाशित समय १५:५५ बजे





















