चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण
काठमाडौं । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ । बुधबार, साँझ भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान सफलतापूर्वक अवतरण गराएको हो ।इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर् याएको थियो ।
यान अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो भारतका लागि मात्रै नभएर विश्वकै लागि खुुसीको कुरा भएको बताए । दक्षिण अफ्रिकाको जोहानेशवर्गमा रहेका मोदी चन्द्रयान ३ अवतरण कार्यक्रमसंग भर्चुअलरुपमा प्रत्यक्ष जोडिएका थिए । चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका थिएनन् ।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पु¥याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएसंगै चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बनेको छ । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक यान अवतरण गराएका छन् ।
प्रकाशित समय २१:०५ बजे





















