1100×100 Nabil Advert

युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको हो । मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय, सहकार्यमा जोड दिनुभयो । उहाँले युरोपसँगको सिधा हवाई सम्पर्क पुनःस्थापित गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । युरोपका पर्यटकहरु धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले युरोपियन यूनियनको सुरक्षा सुचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल उद्योग परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको जानकारी गराउनुहुँदै उहाँले निजी क्षेत्रकोतर्फ परिसंघ मन्त्रालयसँग नजिकमा रहेर काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । परिसंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफलरुपमा संचालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपाललाई फिल्मिङ गन्तव्यका रुपमा विकास एवं प्रबद्र्धन गर्न, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नतीको काम तोकिएको समयमा पुरा गर्नुपर्ने, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायतका विषयमा परिसंघले ध्यानाकर्षण गराएको छ ।

छलफलमा मन्त्री किरातीले नेपाल युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउन सक्ने बताउनुभयो । युरोपियन यूनियनसँग पुनः सिधा हवाई सम्पर्क स्थापित गर्न नेपाल सरकार कठोररुपमा अगाडि बढ्ने विश्वास उहाँले दिलाउनुभएको छ । मन्त्री किरातीले नेपाल गन्तव्य महँगो भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिबृद्धि कर लगाउने कुरामा आफ्नो असहमती राखेको बताउनुभयो ।

नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गर्न ट्रंक रुटका लागि केही जहाज र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडी जहाज खरिद गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले पर्यटन उद्योगको विकासका लागि परिसंघसँग मिलेर काम गर्ने बताउनुभयो । उक्त छलफलमा परिसंघका उपाध्यक्ष राजबहादुर शाह, परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, परिसंघका महानिर्देशक दीपकराज जोशी, पर्यटन समिति सदस्यहरुलगायत हुनुहुन्थ्यो ।

प्रकाशित समय १३:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु