निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा : के के हुँदैछन् कार्यक्रमहरु ?
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । राष्ट्रिय भेला २०८० को निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो । भोलि ८ गते प्रधानमन्त्री विकासे मन्त्रालय तथा मन्त्रीहरुलाई अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने, पर्सी ९ गते प्रदेश महासंघमार्फत् ७७ जिल्लामार्फत ज्ञापनपत्र बुझाउने र १० गतेदेखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतलाई आफ्ना मागबारे जानकारी गराइने महासंघले जनाएको छ ।
त्यस्तै १४ गतेदेखि १५ गतेसम्म प्रधानमन्त्री कार्यालय अगाडिदेखि विभिन्न स्थानमा धर्ना, १६ गतेदेखि निर्माण उपकरणसहितको व्यापक प्रर्दशन गर्ने महासंघले घोषणा गरेको छ । राष्ट्रिय भेलाले आफ्ना मागहरु पूरा गराउने उद्देश्यका साथ संघर्षको कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । निर्माण कार्य सम्पन्न भएका योजनाको समेत अरबौ रकम भुक्तानी नहुँदा व्यवसायी मारमा परेकोले संघर्षमा उत्रिनु परेको महासचिव रोशन दाहालको दाबी छ ।
सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट म्याद थप गरिनुपर्ने, अत्यधिक र अप्रत्याशितरुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समाजोजन गर्नुपर्नेलगायतका माग व्यवसायीको छ ।
प्रकाशित समय २१:४६ बजे




















