V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न

काठमाडौं । छेत्रपाटी निःशुल्क चिकित्सालयका नवनिर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमकाबीच निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता विश्वराज भट्टराईले अध्यक्ष डा.मनोजमान श्रेष्ठसहितका पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई पद तथा गोपनयिताको शपथ ग्रहण गराएका हुन् ।

२०८० वैशाख १६ गते भएको निर्वाचनबाट निर्विरोध निर्वाचित हुनु भएका कार्यसमितिका पदाधिकारी र सदस्य तथा आजै बसेको सञ्चालक समितिले मनोनित गरेका थप दुई जना सञ्चालक तथा पदेन सदस्यसहित कूल १४ जना पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । नव निर्वाचित पदाधिकारीहरुको पदावधी चार वर्षको हुनेछ ।

कार्यक्रममा पूर्व अध्यक्ष विजयबहादुर मालीले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष डा.मनोजमान श्रेष्ठ, उपाध्याक्ष कुमारदेव मानन्धर, महासचिव डा.कृष्टिना श्रेष्ठ, सचिव जगदीश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सह कोषाध्यक्ष कृष्ण प्रसाद मानन्धरले शपथ लिएका छन् । त्यसैगरी कार्यकारिणी सदस्यहरुमा डा.निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल. चन्द्र मानन्धरले पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ कार्यसमितिको बैठकबाट सजनी जोशी र कपिल श्रेष्ठलाई कार्य समितिको सदस्यमा मनोनित गरिएको छ । त्यस्तै, नविन मानन्धरलाई पदेन सदस्यको रुपमा मनोनित गरिएको छ ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजिबाट शुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो । २०१३ सालमा स्थापना भएको काठमाडौको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) को मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त भएका छन् ।

नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पतालको नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले आजै शपथग्रहणपछि बसेको बैठकले मानन्धरलाई मेडिकल डाइरेक्टरमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । आजको सञ्चालक समितिको बैठकबाट मेडिकल डाइरेक्टरमा नियुक्त भएका डा. मानन्धरलाई अध्यक्ष डा. मनोजमान श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

नवनियुक्त डा.सन्तोष मानन्धरलाई क्षेत्रपाटी निःशुल्क चिकित्सालयको स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने, गरिब, असहायले सहजै उपचार सुविधा पाउने व्यवस्था गर्ने र अस्पताललाई अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित समय १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010