राष्ट्र संघको उच्चस्तरीय फोरममा आयोगका उपाध्यक्ष श्रेष्ठद्वारा सम्बोधन

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्यूयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्बोधन गरेका हुन् ।
यसअघि उपाध्यक्ष नेतृत्वको टिम मञ्चको तीनदिने उच्चस्तरीय सम्मेलनको उद्घाटन सत्रमा समेत सहभागी भएको थियो । फोरमा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरुको सहभागिता छ । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरू प्रकाश पार्दै अल्पविकसित राष्ट्रहरूमा एसडीजीहरूको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए ।
उनले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न र नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत् संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह गरेका छन् । उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए । ‘एलडिसीहरु विश्वव्यापी फोकसको केन्द्रविन्दु हुनुपर्छ, एलडिसी सफल भए एसडिसीहरु सफल हुन्छन्’ उपाध्यक्ष श्रेष्ठले भने ।
उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी हुन नेपाली टोली १३ जुलाईमा अमेरिकाको न्यूयोर्क पुगेको थियो । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरु र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरु सहभागी छन् ।
प्रकाशित समय १०:२६ बजे