1100×100 Nabil Advert

नेपालमा रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि सम्झौता

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डियाग इन्डष्ट्रिज जीएमबीएच, जर्मनीबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डियाग इन्डष्ट्रिज जीएमबीएच, जर्मनीका म्यानेजिङ डाइरेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गर्नुभयो ।
सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार डियागको प्रस्तावका आधारमा लगानी बोर्डको ५० औं बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औं बैठकबाट स्वीकृत भएको थियो । समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक डियागले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र ‘डिटेल फिजिबिलिटी स्टडी रिपोर्ट’ लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ ।

प्रस्तावक डियागले नेचुरल ग्याँस, इलेक्ट्रोलाइसिस विथ कार्बन क्याप्चर स्टोरेज अथवा हाइब्रिड (उल्लिखित दुबै) प्रविधि मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७ सय १४ मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।
साथै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दीगोरुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गर्नुभयो ।

प्रकाशित समय २१:५० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु