V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

निजी क्षेत्रको मनोबल बढाउनुपर्ने माग राख्दै सिएनआईको छलफल मुख्यसचिवसँग

काठमाडौं । नेपाल उद्योग परिसंघ र मुख्य सचिव डा.बैकुण्ठ अर्यालबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले छलफल गर्नुभएको हो । परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल उकास्नुपर्ने बताउनुभयो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुहुँदै सार्वजनिक निजी साझेदारीमा नयाँ औद्योगिक क्षेत्र अगाडि बढाउनुपर्ने, जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने बताउनुभयो ।

अध्यक्ष अग्रवालले स्वदेशी वस्तुहरुको प्रबद्र्धनका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरुले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गराउन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य तथा सीप विकासलाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो । साथै उहाँले उधारो उठाउने ऐन, अग्रिम जमानत कानूनको आवश्यकता औल्याउनुभयो ।

सो अवसरमा मुख्य सचिव अर्यालले परिसंघले उठाएका विषयहरुको सम्बोधनका लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने बताउनुभयो । उहाँले परिसंघले अर्थतन्त्रका लागि महत्वपूर्ण नीतिगत सुझावहरु दिदै आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा समेत प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले परिसंघको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनुभयो । सो छलफलमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्यहरु गोकुल भण्डारी, छायाँ शर्मा, महानिर्देशक दिपकराज जोशी सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित समय ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010