मल वितरणमा पक्षपात भएको छैन : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुषालले सत्ता पक्षलाई मात्रै मल दिइयो भन्ने कुरा सत्यमा आधारित नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिंदै उनले मल वितरणको काम स्थानीय पालिकाहरुले तोकेको सहकारीहरु मार्फत गर्ने हुँदा यस्तो प्रकारको कुनै सम्भावना नरहेको बताए ।
यस्तै, उनले मल वितरणमा केही समस्या रहेको स्वीकार गर्दै त्यसको सुधारका लागि मन्त्रालयले प्रयास गरिरहेको दाबी गरे । ‘सत्ता पक्षलाई मात्रै मल दिइयो भन्ने कुरा सत्यमा आधारित नभएको जस्तो लाग्छ । किनभने हामीले मलको वितरण स्थानीय पालिकाहरुले तोकेको सहकारीहरु मार्फत गर्दछौं । स्थानीय पालिकामा त्यहाँको उपप्रमुखको अध्यक्षतामा रहेको समिति छ, त्यो समितिले तोक्ने सबै व्यवस्थापन समितिले हेर्छ । स्थानीय तहबाट निर्वाचितहरुले आफ्नो पक्षलाई मात्रै दिने हो भने त्यसको केही भन्न सकिन्न तर त्यसो भएको जस्तो लाग्दैन ।’ उनले भने ‘तर वितरणमा कमजोरीहरु रहेका छन्, तिनीहरुलाई सुधार गर्नका लागि मन्त्रालय प्रयासरत छ ।’
मन्त्री भुषालले कृषिजन्य उत्पादनमा भन्सार लगाउन नहुने धारणा व्यक्त गर्दै यसबारे अर्थ मन्त्रालयसँग छलफल गरिने बताए । उनले भने– ‘भन्सारको विषय अर्थ मन्त्रालयमा पर्दो रहेछ त्यो समस्याको कुरा हो कृषिजन्य उत्पादनमा भन्सार नलगाउ भन्ने हाम्रो धारणा हो । भन्सारका दर तय गर्ने काम अर्थ मन्त्रालयको भएको हँुदा यसबारे छलफल गर्नुपर्छ ।’ देशलाई आत्मनिर्भर बनाउने विषय एउटा मन्त्रालयको मात्रै नभएको भन्दै सिंगो देश एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
प्रकाशित समय ०७:५५ बजे


















