सुरक्षा चुनौती बढेको लघुवित्त बैंकर्स संघको निष्कर्ष
सरकारले सुरक्षा नदिए कडा कदम चाल्ने चेतावनी

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तीय संस्थाहरुका विरुद्धमा संघर्ष समिति खडा गरी नियतवश आक्रमण गरेको तथा काम गर्ने वातावरण नदिएको भन्दै कर्मचारीको सुरक्षा जल्दोबल्दो चुनौतीको रुपमा देखिएको बताएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तीय संस्थाहरुमा निरन्तर स्वार्थ समूह र राजनीतिक समूहले सुनियोजित रुपमै संघर्ष समिति बनाएर आक्रमण गरेको आरोप लगाउँदै कर्मचारीको सुरक्षामा चुनौति थपिएको बताएको हो ।
संघका महासचिव रामबहादुर यादवले सरकारले व्यवसायीको सुरक्षालाई वेवास्ता गरेको भन्दै आपत्ति जनाए । ‘कानून बमोजिम दर्ता भई सरोकारवाला निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध विगत केही समयदेखि केही व्यक्ति तथा राजनीतिक समूहले लघुवित्तीय विरुद्धको संघर्ष समिति नामको अवैधानिक समूह खडा गरी सुनियोजित तवरले वित्तीय संस्था जस्तो अति संवेदनशील क्षेत्रमा आन्दोलन गरी कार्यक्रममा अवरोध श्रृजना गर्ने, कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचार–प्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने, लघुवित्तकर्मीको मनोवल कमजोर गराउने गरी कर्मचारीमाथि हातपात गर्ने, कार्यालयमा तोडफोड तथा उपकरण, रकम लुटपाट तथा आगजनीको प्रयास गर्ने, सोझा सदस्यहरुलाई वित्तीय सेवा उपयोग गर्न बाधा पुर्याई लघुवित्त कार्यक्रमलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि भएको प्रति संघको घोर आपति छ’ महासचिव यादवले भने ।
यस्तै, लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष वसन्त लम्सालले लघुवित्तीय संस्थाहरुमा सुरक्षाको चुनौति थपिएको बताए । लम्सालले भने- ‘पैसा उठाउने कुरामा समय छ विस्तारै असुल हुन्छ, अहिले त्यति धेरै आत्तिएका छैनौं, मन्दीको कारणले सबैलाई असर परेको छ, ढिलो भएको हो । तर, असुलीको मात्रै कुरा भन्दा पनि अहिले जल्दोबल्दो चुनौती सुरक्षाको हो । त्यसकै कारण कर्मचारी फिल्डमा जान नसक्ने, जहाँ पनि पिटिने र अफिसमा बस्न नसक्ने अवस्था चाहीं सबैभन्दा डरलाग्दो अवस्थामा छ ।’
लघुवित्तहरुले ऋण मिनाहा गर्ने आशमा संस्थाका कर्मचारीमाथि नै खनिने गरेको उनको आरोप छ । उनले संघमा आवद्ध वित्तीय संस्थाहरुमध्ये कसैको आर्थिक अवस्था राम्रो र कसैको अवस्था असजिलो भएकाले स्वभाविकरुपमा ती संस्थाहरुको सुधार छिटो र सजिलो नहुने भन्दै सुरक्षाको प्रत्याभूति सरकारले गराउनु पर्नेमा जोड दिए ।
त्यस्तै स्वार्थ समूहले आन्दोलनका नाममा गरेका अवाञ्छित गतिविधि तत्काल बन्द गरी शान्ति सुरक्षाको प्रबन्ध मिलाउनका लागि लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको समन्वनमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको महासचिव यादवले जानकारी दिए । उनले लघुवित्तिय संस्थाहरु सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकारलाई पहल गर्न आग्रह गरे । अराजक गतिविधिहरु नियन्त्रण गर्ने कार्यमा सुरक्षा संयन्त्रले मूकदर्शक बनेर असहयोग गरेकोप्रति उनीहरुले आपत्ति जनाउँदै त्यसमा सुधार नगरे लघुवित्त वित्तीय संस्थाहरुले सेवा बन्द गरेर अझ कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
प्रकाशित समय १९:३३ बजे