बुटवल–पाल्पा जोड्ने केबुलकार औपचारिकरुपमा सञ्चालनमा

काठमाडौं । बुटवल–पाल्पा जोड्ने केबुलकारको उद्घाटन आज(बिहीवार) हुने भएको छ । उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् । उद्घाटनपछि केबुलकार व्यवसायीक सञ्चालनमा आउनेछ । आईएमई समूहले पाँच अर्क रुपैयाँ लागतमा केबुलकार निर्माण गरेको हो ।
केबुलकारले लुम्बिनिको बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउँ गाउँपालिकाई जोड्ने छ । केबुलकारबाट पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवीको मन्दिर, भगवती मन्दिर, गणेश मन्दिरको दर्शन गर्न सकिनेछ । थप आकर्षणका लागि केबुलकार परिसरमा कैलाश पर्वत, वर पिपल, ढुंगेधारा, पोखरी लगायतका संरचना पनि निर्माण गरिएका छन् । बुटवलको गोलपार्कस्थित बमघाटबाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरसम्म केबुलकारको लम्बाई तीन किलोमिटर छ ।
केबुलकारमा २५ वटा डिब्बा जडान गरिएका छन् । केबुलकारले एकै दिन छ हजार पर्यटकलाई सेवा दिन सक्ने निर्माता कम्पनी लुम्बिनि केबुलकारले जनाएको छ । केबुलकार सञ्चालनपछि भारतका गोरखपुर, लखनउलगायत सहरका भारतीय पर्यटकलाई आकर्षित गर्न सक्ने कम्पनीको दाबी छ । केबुलकारको बटम स्टेशन समुन्द्री सतहबाट दुई सय ३० मिटर उचाई छ भने टप स्टेशन ९ सय ४० मिटर उचाईमा छ । बटमबाट टप स्टेशनमा पुग्न १० मिनेटमात्रै लाग्नेछ ।
पर्यटकका लागि केबुलकार परिसरमा सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट निर्माण गरिएका छन् । जसमा भेज र नन् भेज खानाको सुविधा छ । परिसरमा बाल उद्यान, स्काईवाक र जीप लाइन पनि निर्माण हुँदैछन् । आईएमई समूहले यसअघि काठमाडौंमा चन्द्रगिरी केबुलकार सञ्चालनमा ल्याईसकेको छ । नवलपुरस्थित गैंडाकोटमा पनि सोही समूहले मौलाकालिका केबलकार सञ्चालनमा ल्याएको छ । केबुलकारबाट प्राप्त हुने आम्दानीको २ प्रतिशत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय १०:२१ बजे