नबिल बैंकद्वारा ‘नबिल दिगो घर कर्जा’ स्किम सार्वजनिक

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको हो । आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नबिल बैकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेर अघि बढाइएको हो । उनले नबिल बैंकले दीगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दीगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताउनुभयो । उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैकले दीगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पार्नुभयो ।
साथै बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दीगो घर कर्जा एउटा शुरुवाती प्रयास भए पनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारणा राख्नुभयो । उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दीगो विकासमा टेवा पुर्याउने विश्वास गरेका छन् । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति रहेको थियो ।
नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ । यस स्किमले देशको आवास निर्माण क्षेत्रभित्र वातावरण मैत्री र सामाजिकरूपमा जिम्मेवार अभ्यासहरू प्रवर्धन गर्ने विश्वास बैंकले लिएको छ । दीगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरण मैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ ।
वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यस योजनाअन्तर्गत आवास कर्जा लिन सक्नेछन् । बैंकले सुरुवात गरेको नबिल दीगो घर कर्जा ग्राहकहरुले बैंकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन् भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् । सात वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्ष पछि बाँकी अवधिमा सात वर्ष पश्चात्को आधार दरमा १ दशमलब ५ प्रतिशत जोडी हुने व्याजदरमा प्राप्त गर्न सक्नेछन् । साथै यस स्किमअन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने एक वर्षलाई दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइने छ ।
यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्ष सम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने छ । यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गइरहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने छ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सिएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनु पर्ने उल्लेख छ ।
यो कर्जा, वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न, वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिई वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न तथा यस बैंकबाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भइसकेको घरमा वातावरण मैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्नेछन् । यस कर्जा उपयोग गर्ने प्रक्रिया अन्य घर कर्जाहरू जस्तै सरल हुनेछ । न्यूनतम कर्जा सीमा सात लाख र अधिकतम सीमा पाँच करोड हुनेछ ।
प्रकाशित समय २१:०८ बजे