परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं : पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले वीरेन्द्रनगरबाट सबैलाई परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं भन्नुभएको छ । अब कस्तो विधि अपनाउने भन्नेबारेमा पनि उहाँले जनतासँग प्रश्न गर्नुभएको छ । वीरेन्द्रनगरमा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले भन्नुभएको छ– वीरेन्द्रनगर आएर तपाईहरुको न्यानो आत्मीयता पाउँदा मलाई धेरै खुशी लागेको छ । यो सुखद् क्षणमा तपाईहरुले दर्शाउनु भएको स्वागत र सद्भावप्रति म कृतज्ञता व्यक्त गर्दछु । प्राचीन कालमा एक विशाल तालका रुपमा रहेको यो सुर्खेत सुरदेवताको करुणाले पछि उर्वर खेत बनेको भनाई रहेको छ । दैलेख, जाजरकोट, बाँके, बर्दिया, सल्यान, दाङ, डोटी अछाम र कैलाली गरी नौ जिल्लासँग जोडिएको र केन्द्रभागमा रहेको एक सुन्दर उपत्यका अहिले आधुनिक वीरेन्द्रनगर बनेको छ ।
आजभन्दा पचास वर्षअघि नेपालको विकास प्रकृयामा सन्तुलन ल्याउन पाँच विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोण आदरणीय दाजु श्री ५ वीरेन्द्रले अघि सारिबक्सेको हो । धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायललाई केन्द्रविन्दू बनाएर सबै क्षेत्रको समानुपातिक विकासको अवधारणा परिकल्पना गरिबक्सेको थियो । कर्णाली राजमार्ग, रत्न राजमार्ग, काक्री बिहार, बुलबुले ताल, कोठीकाँडा, लाटीकोइली, बयलकाँडा, सिद्धपाइला र वीरेन्द्रनगर शहरी संरचनालाई त्यही क्षेत्रीय विकासको अवधारणाबमोजिम नै अघि आएका हुन् । क्षेत्रीय भ्रमण गरी सञ्चालित विकास कार्यको अनुगमन, निरीक्षण र सुधार गर्दै जाने काम पनि हुँदै आएको हो ।
२०३० को दशकदेखि नै शुरु भएका त्यस्ता सुखद सपनालाई दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्लासम्म फैलाउँदै, फुलाउँदै जानु आवश्यक छ । देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व हो । यो दायित्वमा निरन्तर संगठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धती हो । लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद आदि जे–जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।
तर दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ? हामी जहाँ–जहाँ जान्छौं, जे–जे सुन्छौं र जस्तो–जस्तो देख्छौं, त्यसबाट थाहा पाउँछौं, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो । नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरुले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको विकाउमात्र हुन्छ, टिकाउको हँुदैन । हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ । अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान हाम्रो शान हो, आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभीमान हो । त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आवाज सुन्छौं ।
त्यसैले अब कसरी जाने, के कस्तो विधि व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुनः ताजारुपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ । अब सोचौं के गर्दा देशको राम्रो हुन्छ, अब सोचौं के नगर्दा देशलाई फाइदा हुन्छ । राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ । नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ । अब हामी भन्दछौं, मिलौं, हामी सबै मिलौं, त्यसैले हामी भन्दछौं, जुटौं, हामी सबै एक भएर जुटौं । त्यसैले हामी भन्दछौं– हामी नफुटौं र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं । त्यसैले फेरि पनि भन्छौं– जुटौं, खटौं र डटौं, स्वधर्मबाट हटेर होइन, त्यसमै एकजुट भएर राष्ट्रका निम्ति एकसाथ अघि बढौं । सबैमा फेरि एकपटक हाम्रो धन्यवाद ।
प्रकाशित समय १७:३६ बजे