नेपाल टेलिकमले घटायो भारत र थाइल्याण्डको रोमिङ शुल्क

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनीय रुपमा कमी गर्ने भएको छ । मे १७ मा मनाइने आइटीयु डे २०२३ को अवसरमा २०८० जेठ ३ गतेदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुनेछ ।
नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिलेभन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् । नयाँ दरअनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दाप्रति मिनेट रु. ७ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रु.७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने छ । हाल भारतको कुनै नम्बरमा कल गर्दा रु. ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने व्यवस्था छ ।
त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रतिमिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्ने छ । हाल कुनै नम्बरमा कल गर्दा रु. १३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा रु. ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस रु. ३४ लाग्छ ।
त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी रु. ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसामात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव रु. ५ मात्र लाग्ने छ । अन्य देशमा जाँदा–रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदान–प्रदान गर्न सकिन्छ ।
प्रकाशित समय १८:२७ बजे