राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए शपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा.प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् । सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका हुन् । यसअघि डा.श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए ।
सरकारले गत ८ वैशाखमा नै बुढाथोकीलाई सदस्य नियुक्त गरे पनि सपथ भने बाँकी थियो । बुढाथोकीले आइतबार शपथ र पदभार ग्रहण समेत गरेका छन् । आयोगको काम कारबाहीलाई सशक्तरुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताएका छन् ।आयोगको सदस्यका रुपमा यसअघि नै डा.रामकुमार फूयाँल, डा.जयकान्त राउत, प्रा.डा.आरपी विच्छा र डा.रमेशचन्द्र पौडेलले जिम्मेवारी सम्हालिसकेका छन् ।
को हुन् बुढाथोकी : बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा लामो अनुभव भएका व्यक्ति हुन् । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक श्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट तथ्यांकशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गरेका छन् । नेपालबाहेक बुढाथोकीसँग इरान, बेलायत, बंगलादेश जस्ता मुलुकहरुमा काम गरेको अनुभवसमेत छ । राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका बुढाथोकीमा त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनको अनुभव साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थाहरुमा काम गरेको अनुभव छ ।
प्रकाशित समय १५:४९ बजे