महावीर पुन नेतृत्वको सामाजिक आन्दोलनमा राप्रपाको पनि ऐक्यवद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा जारी अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीको धर्ना कार्यक्रम स्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको हो । त्यस अवसरमा उहाँले देशका लागि शुरु गरिएको सो सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशवासीलाई अपिल गर्नुभयो । अध्यक्ष लिङदेनले सो आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नुभयो । उहाँले सो माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्नेगरी आन्दोलनको आँधिबेहरी सृर्जना गर्न पनि सिंगो देशवासीलाई आग्रह गर्नुभयो । अध्यक्ष लिङदेनले संसदमा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकार पक्षका मानिसहरुले आएर केही भ्रमपूर्ण कुराहरु पनि गरेजस्तो मैले बुझ्न पाए । यो त संसद्ले गर्नुपर्ने हो । मैले के गरौं भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो । यो काम एउटा प्रधानमन्त्रीले आएर भन्यो भने पुग्छ । संसद्मा लैजानु पर्ने विषयहरु छैनन् यसमा । सार्वजनिक खरिद ऐनले कुनै समस्या पार्छ भने त्यो खरिद ऐन सरकारले संशोधनको प्रस्ताव संसद्मा ल्याओस् हामी भोलि पास गर्न तयार छौं । सरकारले ऐनमा कुनै समस्या भए संशोधनको प्रस्ताव ल्याओस् । नयाँ ऐन बनाउनुपर्ने हो भने त्यो पनि प्रस्ताव लिएर आओस् । त्यसलाई पारित गर्न हामी तयार छौं । कुनै पनि ठूलो कुरा छैन । म फेरि पनि भन्छु, सरकारले ढिलो नगरोस् । यो लाजमर्दो स्थिति पालेर नराखोस् । यो लाजमर्दाे स्थिति हो । देशका लागि बेइज्जतीको कुरा हो । सरकारले ध्यान दिनुपर्ने कुरा एउटा बैज्ञानिकले, एउटा व्यक्तिले अगाडि बढाईराखेको छ । र, पनि सरकारले यहाँ धर्ना शुरु भएको ७२ घण्टा भईसक्दा पनि सरकार नदेखेजस्तो गरेर बसेको छ । म फेरि पनि भन्छु, एक छिन पनि ढिला नगरोस् यो कामको लागि र जबसम्म सरकार कान खोल्दैन, आँखा खोल्दैन । र यो निर्णयमा सहमत हुन आउँदैन । तबसम्म म फेरि पनि सम्पूर्ण देशवासीहरुसँग अपिल गर्न चाहन्छु यो एउटा पार्टीको कुरा होइन, एउटा व्यक्तिको कुरा होइन । यो देशको कुरा हो । हामी सबैले ऐक्यवद्धता व्यक्त गरौं । देशभरबाट यो सामाजिक आन्दोलनलाई साथ दिऊँ । र, आँधिबेहरी सृर्जना गरेर यो सरकारलाई झुकाएर यो हाम्रो देशको भविष्य र हाम्रो सन्ततिको भविष्यको बारेमा हामी एक होऊ भन्ने कुरा आग्रह गर्न चाहन्छु । र यसमा हाम्रो पार्टीको पूर्ण साथ–सहयोग र ऐक्यवद्धता रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ अध्यक्ष लिङदेनले देशको भविष्य र सन्ततिको भविष्यका लागि एक बैज्ञानिक पुनले राख्नुभएको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिनुभयो । त्यस अवसरमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोषमा छुट्टयाउन सरकारसँग माग गर्नुभयो । उहाँले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफूहरुले सो आन्दोलन गर्नु परेको पनि पटक–पटक दोहो र् याउनु भयो ।
पुनले भन्नुभयो, ‘पहिलो कुरा यो अनुसन्धान, नवप्रवद्र्धन र आविष्कार भन्ने जुन छ । यो जुन आन्दोलन चलिराखेको छ । यो के का लागि भन्दाखेरी यो बाटोमा बस्नका लागि होइन । रमाईलो गर्नका लागि होइन । यो चाँही देशको अर्थतन्त्र सुधार्नका लागि चालिएको कदम हो । अब भन्नुहोला, यो आविष्कार, अनुसन्धान र नवप्रर्वतनको काम नभएको देशको अर्थतन्त्रमा सुधार नभएको हो । शान्ति नआएको हो । अशान्ति भएपछि देशमा के–के हुन्छ र त्यो भन्न सकिंदैन । अनुन्धान, नवप्रवर्तन र आविष्कार भन्ने यो तीन वटा शब्द भनेको के हो भने अर्थतन्त्र सुधार्ने बीउ हो । बीउ नभईकन केही पनि उम्रदैन संसारमा । बीच चाहिन्छ । र, यो बीउ रोपिएन भने अर्थतन्त्र सुध्रिंदैन ।’ केन्द्रका संस्थापक पुनको अगुवाईमा शुरु भएको सो आन्दोलनमा वरिष्ठ चिकित्सक गोविन्द केसीलगायतले पनि आजै ऐक्यवद्धता जनाउनुभएको छ ।
प्रकाशित समय १४:५२ बजे