राष्ट्रपति पौडेल विभूषण प्रदान गर्न आफैं ओर्लिए मञ्चबाट

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शारीरिकरुपमा अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिए । यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लिए । त्यहीबेला त्यहाँ रहेका सुरक्षा अधिकारीले राष्ट्रपति त्यसरी जान नमिल्ने संकेत गरे । तर राष्ट्रपति पौडेलले त्यसलाई अस्वीकार गर्दै मञ्चबाट तल ओर्लेर ती अशक्त वृद्धालाई पदकले विभूषित गरे ।
शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित सुशोभन समारोहको एउटा दृश्य हो यो । राष्ट्रपति पौडेलले सो अवसरमा एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, ६ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरे ।
राष्ट्रपति पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी सो अवसरमा प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालालाई दिइएको नेपाल रत्न उहाँंकी परिवारिक सदस्य किरण कोइरालालाई प्रदान गरेका थिए । राजनीतिज्ञ स्व जीवराज न्यौपाने ‘आश्रित’, लाई प्रदान गरिएको राष्ट्र गौरव उहाँंकी धर्मपत्नी माया न्यौपानेलाई प्रदान गरिएको थियो । यस्तै राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई र संस्कृतिविद् स्व सत्यमोहन जोशीलाई मरणोपरान्त प्रदान गरिएको थियो । सुप्रसिद्ध प्रबल जनसेवाश्री डा. जगमान गुरुङलाई प्रदान गरियो । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको थियो ।
मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
प्रकाशित समय २०:०६ बजे