एफएनसीसीआईमा उमेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा
तीनवटै समूहका प्यानल निर्माण, निर्वाचनको माहौल गरमागरम

काठमाडौं । आशन्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनका लागि उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो समूह नै बनाएर उम्मेदवारी घोषणा गरेका हुन् । यही २०७९ चैत्र २८ र २९ गते हुने महासंघको ५७ औं साधारण सभा तथा नेतृत्व चयन सम्बन्धि अधिवेशनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समुहले ‘सक्षम निजी क्षेत्र समृद्व अर्थतन्त्र’ भन्ने नाराका साथ आज ललितपुरको हेरिटेज होटलमा उम्मेदवारी घोषणा गरे । श्रेष्ठको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसिएटस उपाध्यक्षमा भरत आचार्यसहित वस्तुगत संघका तर्फका १४ जना केन्द्रीय कार्यकारिणी सदस्यको समेत उम्मेदवारी घोषणा गरिएको छ ।
उमेशलालको समूहमा रहेका जिल्ला नगरतर्फ उपाध्यक्ष पदका उम्मेदवार दिनेश श्रेष्ठ छन् । उनी लामो समयदेखि उद्योग–व्यवसायको क्षेत्रमा आबद्ध एक अनुभवी व्यक्ति हुन् । त्यसैगरी वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल पनि त्यस्तै अनुभवी र पाका व्यक्तित्व हुन् । नेपाल उद्योग वाणिज्य महासंका २०२० देखि हालसम्म कार्यसमिति सदस्य छन् । त्यस्तै भरतराज आचार्य एसोसिएटतर्फ उपाध्यक्षको उम्मेदवार छन् । थुपै्र उद्योग व्यवसायमा संलग्न आचार्य पनि अनुभवी व्यक्ति हुन् । आज विभिन्न जिल्लाबाट उपस्थित भएर उद्योगी व्यवसायीहरुले जुनसुकै हालतमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा उमेशलाल श्रेष्ठको समूहलाई नै जिताउने बताए ।
हिजोमात्रै वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी रामचन्द्र संघईले आफ्नो प्यानल घोषणा गरेका थिए । संघईको प्यानलबाट उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तलाल हिराचन रहेका छन् भने उनले यसअघि अन्जन श्रेष्ठको टिममा रहेकी व्यवसायी ज्योत्स्ना श्रेष्ठलाई आफ्नो प्यानलमा ल्याएका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी अन्जन श्रेष्ठको समेत प्यानल निर्माण भएको छ । अन्जनको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् अरुणराज सुमार्गी, त्यस्तै वस्तुगततर्फका उपाध्यक्ष पदका उम्मेदवार मनिषलाल प्रधान छन् भने एसोसिएटतर्फ प्रवलजंग पाण्डे उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
तीनवटै समूहले आ–आफ्नो प्यानल निर्माण गरिसकेका छन् । आशन्न निर्वाचनका लागि नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिक गरमागरम अवस्थामा पुगेको छ । नतिजा के हुन्छ, त्यो हेर्न भने केही दिन कुर्नैपर्ने भएको छ ।
प्रकाशित समय २२:२६ बजे