प्रधानमन्त्री विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न महामन्त्री शर्माको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गरेका युवाहरुलाई थुनामुक्त गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई उल्लेख गर्र्दै शर्माले प्रहरी नियन्त्रणमा रहेका युवाहरुलाई रिहा गनुपर्ने भन्दै गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न नहुने बताएका हुन् । उनले लेखेका छन– ‘सम्माननीय प्रधानमन्त्री, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद् र आपत्तिजनक थियो, आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’
गत चैत ७ गते काठमाडौंको नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय जातीय भेद्भाव उन्मूलन दिवस सम्बन्धी कार्यक्रममा पुग्ने बित्तिकै केही युवाले नाराबाजी गरेका थिए । त्यसपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा जेल चलान गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चैत १२ गते तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेको थियो । तर, उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरिएको छ ।
प्रकाशित समय १५:५९ बजे