कोशी प्रदेशमा चलिरहेको आन्दोलनबारे सरकार गम्भीर छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रिपरिषद् बसेको बैठकमा आफूले सरकारलाई कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजीत मिस लिम्बू २0७९ को उद्घाटन कार्यक्रममा बोल्दै उनले आफैं सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको बताएका हुन् ।
‘हिजोमात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु, मन्त्रीपरिषद्को बैठकमा । हाम्रो पूर्वको अहिलेको आन्दोलनको सन्दर्भमा । जसले वीरगति प्राप्त गर्नुभयो, उहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर कुरा राखेपछि प्रधानमन्त्रीले नै भोली बिहानसम्म केही न केही म बोल्नेछु भन्नुभएको छ ।’ मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डले आन्दोलनबारे आफू गम्भीर रहेको र केही न केही निष्कर्ष निकाल्ने आश्वासन दिएको बताएका छन् । एकल संस्कृति र एकल पहिचानले देश नबन्ने भन्दै उनले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने पनि बताएका छन् ।
प्रकाशित समय २१:१८ बजे