उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्छु : अञ्जन श्रेष्ठ

काँकडभिट्टा । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्ने बताएका छन् । कोशी प्रदेशको काँकरभिट्टामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेवार ?’ विषयक कार्यक्रममा आफूले एफएनसीसीआईका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सहयोगी र सेतुको रुपमा काम गर्ने बताएका हुन् । श्रेष्ठले भने– ‘मैले वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्नेछु’ उनले प्रतिबद्धता जाहेर गरे– ‘विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरे पनि मैले सक्रियरुपमा उद्योगी व्यवसायीहरुको समस्या समाधानमा काम गर्नेछु ।’ उनले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्र्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रियरुपमा सहकार्य गर्ने पनि बताए ।
‘हामी आफैंले एसएमसईबाट व्यवसाय शुरु गरेर अहिलेसम्म यहाँ आएको हुँ । त्यसैले व्यवसायका समस्याहरुबारेमा पनि परिचित छु’ उनले भने– ‘अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याज तिर्न कठिनाई भोगिरहेका छौं । त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु ।’ कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै नीजि क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए ।
‘अहिले राजस्व आम्दानी माइनसमा गयो । जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो । यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो’ उनले भने । बैंक तथा वित्तीय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनले स्पष्ट पारे । ‘नीति बनाउँदा पर्याप्त सल्लाह नभएको देखिन्छ । सामूहिक सल्लाहसमेत गरिएन र निजी क्षेत्रसँग समेत सरसल्लाह भएन’ पूर्वसचिव ढुंगानाले भने– ‘मौद्रिक नीतिमा समीक्षा भएन र प्राइभेट सेक्टरसँग छलफल नै गरिएन ।’
जिल्ला नगरतर्फको उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले महासंघमा उद्योगीहरुको समस्यामा बोल्ने नेतृत्व चाहिएको भन्दै अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न आव्हान गरे । ‘यसअघि पनि युवा नेतृत्वलाई रोक्ने काम हुँदै आएको छ । तर अब यसपटक समस्या सुन्ने र बोल्ने नेतृत्वका लागि अन्जन श्रेष्ठलाई जिताउनुको विकल्प छैन’ उनले भने । अन्य वक्ताहरुले अर्थतन्त्र पूरै बिग्रिएको नभई लथालिङ्ग भएको र सुधार गर्न सकिने अवस्थामा रहेको बताएका थिए । सरोकारवालाहरुले अर्थतन्त्रमा केही समस्या भएको तर यसलाई सबै मिलेर सुधार गरेर सही ट्र्याकमा ल्याउन सकिने बताए । कार्यक्रममा सहभागी भएका विभिन्न जिल्ला तथा नगरका अध्यक्ष तथा प्रतिनिधिहरुले निजी क्षेत्रका नेतृत्वले नियमितरुपमा यस्ता छलफल गराउनुपर्ने भन्दै यस्तो कार्य नभएको बताए । अर्थतन्त्रलाई सुधार गर्न र व्यवसायीको हकहितमा काम गर्न नेतृत्वले अग्रसर हुनुपर्ने भन्दै सहभागीहरुले सरकारलाई घचघच्याएमा तलका व्यवसायीहरुले पुरै साथ दिने बताए । त्यसैगरी सरकारको नीति अहिले असफल भएको भन्दै अनौपचारिक र ग्रामीण अर्थतन्त्रले मात्र देश चलेको उनीहरुले सुझाव दिए ।
प्रकाशित समय २०:५९ बजे