उद्योग बाणिज्य महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको छु, त्यसमा सहयोग गर्नूस् : उपाध्यक्ष अञ्जन श्रेष्ठ

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघको आगामी नेतृत्व लिनका लागि आफू अग्रसर भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरेका छन् । श्रेष्ठले पोखरामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र, कहाँसम्म कहिलेसम्म ?’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । श्रेष्ठले भने– ‘उद्योगी व्यवसायीहरुको हरेक समस्यासँग जुधेर आफू अगाडि बढिरहेको छु । नेपाल उद्योग बाणिज्य महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको छु । त्यसमा सबैले सहयोग गर्नुस् ।’
श्रेष्ठले व्यापार व्यवसाय सुनसान भएको र सामान्य खर्च धान्नसमेत कठिन भएको बताएका छन् । उनले बजार सुनसान भएको, उद्योगको उत्पादन घटेको, रोजगारी कटौती भएको र खर्च धान्ने अवस्था नभएको बताए । ‘हामीले सामान्य खर्च धान्नै सकेका छैनौं । अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पना भन्दा बाहिरको कुरा हो’ उपाध्यक्ष श्रेष्ठले भने ।
उनले अर्थतन्त्र धराशायी भएको र बजार पीडामा बाँचिरहेको गुनासो गर्दै त्यसलाई समाधान गर्न नियामक र सरकारले तत्काल योजना ल्याउनुपर्ने माग गरे । यो समस्या कसले निराकरण गर्ने भनेर व्यवसायीहरु चिन्तित भएको उनले स्पष्ट पारे । ‘बेस रेट तोकिसकेपछि फेरि बैंकहरुले प्रिमियम ब्याज तोकेर थप किन लिने ? ब्याजदर १० प्रतिशतभन्दा धेरै गर्न हुँदैन र साना तथा मझौला व्यवसायीहरुका लागि अझ ब्याज घटाउनुपर्दछ’ उनले जोड दिए । उनले आगामी दिन युवाहरुकै भएको भन्दै उद्योगी व्यवसायीहरुलाई मार्गदर्शन गर्न अनुरोध गरेका थिए । श्रेष्ठले उद्योग व्यवसाय गर्ने र लगानी मैत्री वातावरणका लागि सधैं अग्रसर रहने स्पष्ट पारे ।
यस्तै उद्योगी किशोर श्रेष्ठले अहिले उद्यमीहरुको मन रोएको र कसरी उद्योग व्यवसाय चलाउने भनेर रुने अवस्थामा भएको बताए । उनले व्यवसायीहरुलाई आगामी २ वर्षसम्म बैंक ऋण र ब्याज तिर्न सहजता र सहुलियत दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले अहिलेको अवस्थामा व्यापार व्यवसाय गर्न कठिन भएको भन्दै त्यसमा सरकारले हेर्नुपर्ने सुझाब दिएका थिए । व्यवसायीहरुले अहिले बजारमा नगद अभाव हुँदा भएको वस्तु तथा सेवा समेत खपत नभएको भन्दै बजारमा सहजरुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक भएको बताए ।
प्रकाशित समय २२:२५ बजे