क्यान इन्फोटेक २०२३ मेलामा देखियो नेतादेखि युवायुवतीसम्मको क्रेज

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा आज चौथो दिन थुप्रै युवापंक्तिको आकर्षण देखियो । प्रदर्शनीमा बढीभन्दा बढी युवायुवतीहरुको आगमनले प्रदर्शनीकर्ता पनि उत्साहित छन् । विभिन्न कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलिरहेको समयमा कम्पनीहरुले क्यान इन्फोटेक विशेष अफर तथा स्किमहरु समेत ल्याइरहेका छन् । महासंघका महासचिव चिरञ्जीवी अधिकारीले दिनुभएको जानकारीअनुसार नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा अवलोकनकर्ताको चासो बढेको छ । विशेषगरी कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता धेरै रहेका छन् । विगतका इन्फोटेकको तुलनामा यसपाली युवाहरूको क्रेज बढेको समेत उहाँले बताउनुभयोे ।
प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति छ । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा पावर सोलुसन्स लगायत छन् । क्यान इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श, कोडिङ च्यालेन्ज तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् । आयोजक क्यान महासंघले पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा नियमितरुपमा विभिन्न अनलाइन कन्टेस्ट आयोजना गरी सूचना प्रविधिप्रेमी व्यक्तिहरूलाई निःशुल्क प्रवेश टिकेट र उपहारहरू प्रदान गरिरहेको छ । दैनिकरुपमा देखिने चिजबिजमा भन्दा अवलोकनकर्ताको रोजाइ रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङ लगायतका नयाँ प्रविधिमा बढी देखिएको छ । त्यस्तै मेलामा राखिएका नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य छ ।
मेलामा स्टार्टअप प्याभिलियनमा २० भन्दा बढी कम्पनी सहभागी छन् । त्यस्तै इन्फोटेकमा राखिएको कलेज प्याभिलियनमा विद्यार्थीका आइडिया र परियोजना समावेश छन् ।
क्यान इन्फोटेकलाई सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गर्नुभएको छ । यस अन्तर्गत हिजोमात्रै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, विद्युतीय सुशासन आयोगका सीईओ दीपेश विष्टसहित विभिन्न क्षेत्रका अधिकारीहरू, कलाकार तथा सूचना प्रविधिप्रेमी महानुभावले मेला अवलोकन गर्नुभएको थियो । १५० भन्दा बढी स्टल रहेको मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क, एनिमेशन मल्टीमिडिया जस्ता उत्पादनका स्टल समेत छन् ।
त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् । क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीहरुलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष रणजीत पोदारले बताउनुभयो । क्यान इन्फोटेक तथा कन्फ्रेन्सबाट सरकारले लिएको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने उहाँको विश्वास छ । क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजन नेपालको चर्चित सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले गरेको छ । त्यस्तै एसोसिएट प्रायोजकमा डिशहोम फाइबरनेट रहेको छ । डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, हुवावे टेक्नोलोजी, सिल्भर स्पोन्सरहरूमा एस पावर, अन सिक्का, डिजिकम, टिकेटिङ पार्टनरमा पेवेल नेपाल, बैकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आई एम ई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ्ग पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिविसन पार्टनर मण्डला सिस्टम, सिसिटिभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् ।
क्यान इन्फोटेकमा बैंकिङ क्षेत्रबाट स्टल राखेको कुमारी बैंक लिमिटेडका मार्केटिङ अधिकृत हेमराज पन्तले भन्नुभयो– मेलामा थुप्रै मानिसहरुले हाम्रा प्रोडक्ट तथा सेवाहरुको बारेमा जिज्ञासा राख्नुभयो । यस्तो मेलाले धेरै आधुनिक प्रविधिका विषयमा एउटै थलोमा बुझ्न पाइने र आफूले चाहेजस्तो वस्तुको खरिद गर्न सकिने पनि बताउनुभयो । मेला माघ २४ गतेदेखि शुरु भएको थियो भने माघ २९ गते सम्पन्न हुँदैछ ।
प्रकाशित समय १९:४२ बजे