V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सबै प्रदेशमा सातवटा देखिने काम गर्ने उद्देश्य छ: वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताउनुभएको छ । इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला–नगर उद्योग व्यवसायी संघहरुसँग महासंघ साथसाथै रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ‘म केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुदैछु । म यहाँहरुसँग के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने तपाईहरुले उठाउने हरेक एजेण्डामा महासंघको साथ र समर्थन रहने छ । म व्यक्तिगत रुपमा पनि तपाईहरुसँगै हुनेछु । जिल्ला–नगरका व्यवसायी साथीहरुले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ’ उहाँले भन्नुभयो ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले कर्जाको व्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रमा नहुने बताउनुभयो । ‘कर्जाको व्याजदर कुनै बैंक, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन । यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरुको प्रभाव रहन्छ । केही समय पहिलेको दुई–तीन प्रतिशतको निक्षेपको व्याजदर अहिले १०/११ प्रतिशत पुगेको छ । त्यसैले कर्जाको व्याजदर स्वतः बढेको हो’ उहाँले बताउनुभयो ।

उहाँले आफूलाई बैंकले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत् आउने प्रतिफल बढी भएको हुँदा बैंक व्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताउनुभयो । ‘म कुनै एउटा बैंकको सञ्चालक समितिको अध्यक्ष हो । तर बैंकको शेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ । त्यसैले बैंकले दिने प्रतिफल भन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ । व्याजदर घट्दा मलाई पनि राहत हुन्छ’ उहाँले भन्नुभयो ।

उहाँले केही व्यवसायीहरुले चुनावी एजेण्डा बनाउन खोज्दा बैंक र व्यवसायीबीचको दूरी बढेको समेत उल्लख गर्नुभयो । उहाँले राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सृजना गर्न सक्छ त्यस्तो व्यवसाय सधै सफल हुने बताउनुभयो । ‘मैले व्यवसाय गर्दा तीनवटा कुराहरुमा विशेष ध्यान दिने गरेको छु । पहिलो राज्यको प्राथमिकताको क्षेत्र, दोस्रो आम जनतालाई सेवा प्रदान गर्ने व्यवसाय र तेस्रो आर्थिकरुपमा सम्भावना रहेको क्षेत्र’ उहाँले भन्नुभयो । उहाँले आफूहरुले सातवटा प्रदेशमा सातवटा देखिने काम गर्ने उद्देश्यले काम गर्न खोजेको समेत स्पष्ट पार्नुभयो ।

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010