तेस्रो आइएमई टेनिस प्रतियोगिता शुरू
काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ आजदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमी खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा.भगवान कोइरालाले गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवद्र्धन गर्न आइएमई ग्रुपलाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम् आइएमई फाउन्डेसनकाअध्यक्ष हेमराज ढकाल र पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी लगायत टेनिस खेलप्रेमी खेलाडीहरूको उपस्थिति रहेको थियो । चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा यू८–यू१६ उमेर समूहका १ सय ५ जना खेलाडीहरूले भाग लिनेछन् ।
टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । गत वर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिने छ ।
आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकूद लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।
प्रकाशित समय १९:५० बजे




















