V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

को हुन् दुई लाख राशिसहित हेमबहादुर मल्ल सम्मान पाउने डा.गौरीशंकरलाल दास ?

उमेरले शताब्दी पुग्न केही वर्षमात्र बाँकी रहेका डा.गौरीशंकरलाल दासलाई साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रायोजनमा नेपाल जनप्रशासन संघद्वारा दुई लाख रुपैयाँ राशिसहितको हेमबहादुर मल्ल सम्मान २०७५ प्रदान गरिने भएको छ । भोलि फागुन १३ गते उनलाई सो सम्मान प्रदान गरिंदैछ । जीवनमा सधैं केही न केही गरिरहनुपर्छ, काम गर्नलाई उमेरले छेक्दैन भन्ने स्वभावका धनी दासको जन्म सिराहा जिल्लाको इनरुवा भन्ने ठाउँमा वि.सं. १९८२ सालमा बुबा जनार्दनलाल दास र आमा भवानी देवीका सुपुत्रका रुपमा जन्मनुभएको हो । ढल्कँदो उमेरमा समेत उत्तिकै सक्रिय दास अहिले पनि दर्जनौं संघ–संस्थामा आबद्ध भएर देशकै सेवामा अहोरात्र खटिने डा.गौरीशंकरलाल दास नयाँ पुस्ताका लागि पे्ररणाको पात्रसमेत हुनुहुन्छ । अनुकरणीय व्यक्तित्व जेष्ठ नागरिकहरूका पनि अभिभावक डा.गौरीशंकरलाल दाससँग आधुनिक पुस्ताका लागि उत्पे्ररणा हुने खालका धेरै कामका अनुभवहरू छन् ।
दासले सन् १९४१ मा म्याट्रिकुलेशन गर्नुभएको हो । उहाँले सन् १९४५ मा बिएस्सी गर्नुभयो । उहाँले पटनामा प्रिन्स अफ वेल्स मेडिकल कलेजमा प्रिमेडिकलमा बायोलोजी पढ्नुप¥यो । सन् १९५१ मा त्यहाँबाट एमबीबीएस गर्नुभएको थियो । उहाँले वीर अस्पतालमा मेडिकल अफिसरबाट नेपालमा औपचारिकरुपमा जागिर खान शुरुवात गर्नुभएको हो । उहाँले आफ्नो जीवनकालमा के कसरी संघर्ष गर्नुप¥यो, र आजसम्म के गरिरहनुभएको छ, उहाँकै शब्दमा– ‘मैले लोकसेवाको परीक्षा दिएर रेजिडेन्ट मेडिकल अफिसर (आरएमओ) मा नियुक्ति पाएँ । खड्गमान मल्ल त्यस बेलामा लोकसेवा आयोगको सचिव हुनुहुन्थ्यो । त्यसबेला वीर अस्पतालमा सुपरिटेण्डेन्ट डा. मजुम्दार र म दुई जनामात्रै थियौं पूरा अस्पतालमा । त्यस बेलामा एउटा बेड फिमेल थियो, त्यसका लागि एकजना रानीसाहेब डाक्टर हुनुहुन्थ्यो । मेल बेडमा हामी दुईजनामात्र थियौं । डा. भरतराज वैद्य मलेरियाको ट्रेनिङमा जानुभएको थियो । अनि डा.भवानीभक्तको पोस्टिङ थियो, तर उहाँ पनि एनेस्थेसियाको टे«निङका लागि बाहिर जानुभएको थियो । म सम्झन्छु, एउटा हाइड्रोसिल केसमा अपरेशन गर्न डा.मजुम्दारले थाल्नुभयो । मचाहिं मेडिकल अफिसरको इमनर्जेन्सी ड्युटी सकेर केही किनमेल गर्न बाहिर गएको थिएँ । अनि उहाँले कम्पाउण्डरलाई एनेस्थेसिया दिन भन्नुभयो । दुर्भाग्यवश एनेजस्थेसियाकै कारण त्यो पेसेन्ट टेबुलमै म¥यो । हाइड्रोसिल अपरेशन मामुली घाउ काटेजस्तो हुन्छ नि, घाउ चिरेजस्तो । तर त्यो मान्छे म¥यो । त्यो बेलामा त यस्तो होहल्ला भयो कि बयान गरेर साध्यै छैन । म वीर अस्पतालमा रेजिडेन्ट मेडिकल अफिसरमा काम गर्दै थिएँ । एकदिन त्यस बेलाका स्वास्थ्य निर्देशक डा.जितसिंह मल्ल जीप लिई आएर मलाई घुम्न जाऊँ भन्नुभयो । डाइरेक्टरले भनेपछि मैले पनि हुन्छ भनें । जिप महाराजगञ्ज पास भयो, बुढानिलकण्ठ पनि पास भयो । त्यो बेलामा मलार्य भने अचम्म लागिराखेको थियो । त्यसपछि बुढानिलकण्ठबाट अलि पश्चिम तिर जिकज्याक सडक थियो । जाँदाजाँदै पहाड उक्लेर बडो रमाइलो दृश्य देखिन्थ्यो । त्यो सल्लाघारीका बीचबाट सर्पाकाररुपमा बाङ्गोटिङ्गो बाटो गइराखेका थियौं । त्यसपछि राम्रा राम्रा घरहरू देखिए । अनि उहाँले भन्नुभयो– ‘ल, हामीहरू टोखा स्यानिटोरियाम आइपुग्यौं ।’ त्यहाँको डाक्टरले अलिकति विरामीहरूको खाद्यान्नलगायत हिनामिना गर्नुभएको रहेछ । त्यहाँका क्षयरोगीहरूले ती डाक्टरलाई त्यहाँबाट हटाउनुपर्छ भनेर हड्ताल गरेका रहेछन् । अनि त्यहाँबाट फर्केपछि डा.जितसिंह मल्लले मलाई सोध्नुभयो– डा.साहब बस्न चाहनुहुन्छ टोखा स्यानिटोरियममा ? म टोखा स्यानिटोरियमको अनुपम प्राकृतिक सौन्दर्यबाट धेरै प्रभावित भइसकेको थिएँ । त्यहाँको प्राकृतिक सौन्दर्यले मलाई तान्यो अनि मैले हुन्छ भनें । त्यसपछि मलाई त्यहाँ पोस्टिङ गर्नुभयो– अफिसियल सुपरिटेन्डेन्टमा, पछि असिस्टेन्ट सुपरिटेण्डेन्टमा र पछि फेरि सुपरिटेन्डेन्ट पनि मैले खाएँ । करिब दश वर्ष म त्यहाँ बसें ।
टोखा स्यानिटोरियममा खासगरी क्षयरोगीका बिरामीहरूको लागि थियो । यहाँ पचास बेडमात्र थियो, तर बिरामी धेरै । त्यसैले पनि प्रतीक्षासूची धेरै लामो थियो । कति लामो प्रतीक्षासूची थियो भने मानिसले निवेदन दिएपछि शैया पाउनका लागि कबि दुई वर्ष पर्खनुपथ्र्यो । प्रतीक्षाको क्रममा धेरै मानिस निको पनि भइहाल्थे, कुनै–कुनै मानिसको चाहिं मृत्यु पनि भइसकेको हुन्थयो । त्यहाँ भर्ना भएकाहरू त बाँच्थे । तर पर्सेन्टेज भन्न त गाह्रो छ । भर्ना भएपछि क्रोनिकस केसमा अलि गाह्रो हुन्थ्यो । अरु उपचार खास त्यतिबेला थिएन । औषधिहरू पनि थिएन त्यसबेला । त्यसबेलाको उपचार भनेकै स्यानिटोरी पद्धतिबाट हुन्थ्यो । शुद्ध हावा र सूर्यको प्रकाश प्रशस्त पाइने खुला र अग्लो ठाउँमा स्यानिटोरियमहरू बनाइन्थ्यो मूलतः सल्लाघारीनजिक । किनकि सल्लाको हावाको फाइदाजनक हुन्छ भन्ने धारणा थियो ।
वैज्ञानिकरुपले सत्य नभए पनि अलि खुल्ला ठाउँमा बस्दाखेरी सेन्स अफ वेलबिइङ हुन्थ्यो । यो उपचारमा खासगरी रोगीलाई केही आराम केही व्यायामको उपाय अपनाइन्थ्यो । व्यायाममा हामी अली–अली डुल्न लगाउँथ्यौं अनि त्यसपछि बढाउँदै लान्थ्यौं । त्यहाँ विभिन्न मोडहरू थिए । एक नम्बरसम्म यो विरामी जाने, त्यो दिनपछि दुई नम्बर मोडसम्म जाने । त्यसै गरेर ग्य्राजुएल एक्सरसाइज गराउँथें । अनि औषधिको नाममा चाहिं गोल्डको कम्पनीहरू च्यानो क्राइसिन, मायो क्राइसिनहरू हामी दिन्थ्यौं । कर्ड लिभर आयल पनि हामी खुवाउँथ्यौं । त्यसबेलामा अरु त औषधि थिएन । खाना पनि व्यालेन्स डाइट हुनुपर्छ भन्ने हाम्रो भनाई थियो । त्यहीं हुँदाहुँदै म बेलायतमा पढ्न गएँ भिबिको बारेमा । डिटिडिए भन्छ– ट्युबरकोलोसिस डिजिज डिप्लोमा, ग्लोबल प्लान पाएर बेलायत पढ्न गएँ । त्यो पढेर आएपछि सुपरिटेण्डेन्ट बनाएर फेरि मलाई त्यहीं पठाइयो ।

क्षयरोगको उपचारको कुरा
साठीको दशकमा मद्रास केमोथ्योरापिटिक सेन्टरमा धेरै प्रकारका अनुसन्धानहरू भए । त्यो अनुसन्धानले के सावित ग¥यो भने यसको प्रभावकारी औषधि जुन अब निस्किसक्या छ । त्यसले गर्दाखेरी धेरै डाइटमा पनि बल दिनु पर्दैन, धेरै रेस्ट पनि लिनु आवश्यक थिएन । मजदूरले मजदूरी पनि गर्छन् र औषधि खायो भने त्यो निको हुन सक्छ । अर्थात् औषधि खायो भने निको हुने भयो र आराम गर्नु पनि कुनै जरुरी भएन । त्यसपछि स्यानिटोरियममा बस्नु पनि आवश्यक भएन । आफ्नो घरमा बसेरै उपार गर्न सकिन्छ भनेरचाहिं पत्ता लाग्यो । त्यससँगै प्रभावकारी औषधिहरू निस्के, जसबाट संक्रामकता कम हुन्थ्यो । रोगीका कफ किटाणुरहित हुन्थ्यो । स्यानिटोरियामको आवश्यकता धेरै कम हुँदै गयो ।
२०१७ सालमा पञ्चायती व्यवस्था प्रादुर्भाव भयो । पञ्चायतकालमा स्वास्थ्यमन्त्री हुुनुभयो डा.नागेश्वरप्रसाद सिंह । उहाँ र म पटनामा सँगसँगै पढेका थियौं । म उहाँको क्वाटरमा जाने गर्थें । उहाँले टोखा कति बस्नुहुन्छ ? अब म यहाँ काठमाडौंमा सारिदिन्छु भन्नुभयो । मैले हुन्छ भनें । त्यतिखेर सेन्टर चेष्ट क्लिनिक (केन्द्रीय उग्रचिकित्सालय) भन्थ्यो । त्यहाँ डा.यज्ञराज जोशी त्यसको इन्चार्ज हुनुहुन्थ्यो । मलाई त्यहाँ डुपेटी मेडिकल सुपरिटेण्डेन्ट बनाइयो । त्यहाँ काम गर्दागर्दै यज्ञराज जोशी त्यहाँ डाइरेक्टर हुनुभयो । उहाँ डाइरेक्टर हुनुभएपछि मचाहिं सुपरिटेण्डेन्ट भएँ । त्यसको केही दिनपछि विष्णुकुमार तुम्बाहाम्फे स्वास्थ्यमन्त्री हुनुभयो । उहाँको श्रीमतीलाई टिबी लागेको रहेछ, उहाँले मलाई भन्नुभयो– डा.साहब मेरो श्रीमतीलाई उपचार गर्नलाई भेल्लोर लगिदिनुस् । मैले भेल्लोर लिएर गएँ इलाज गर्नको लागि । उहाँ धेरै खुशी हुनुभयो । मन्त्रीले मलाई भन्नुभयो– तपाईं डाइरेक्टर बन्नुहोस् । यज्ञराज जोेशीलाई सेन्टर चेष्ट क्लिनिकमा पठाएर मलाई डाक्टरेक्टर बनाउनुभयो । २०२४ देखि २०२५ सम्मचाहिं डाइरेक्टर भएर काम गरें ।

स्वास्थ्य मन्त्रालयमा हुँदा गरेका काम
डब्लुएचओले हरेक स्वास्थ्य मन्त्रालयमा योजना शाखा हुनुपर्छ भनेर नीतिगत व्यवस्था गरेको थियो । त्यसपछि मलाई योजना शाखामा दरबन्दी खडा गरेर लगियो । पहिलो प्रमुख योजना अधिकृत भएको थियो स्वास्थ्य मन्त्रालयअन्तर्गत । त्यसबेला मैले नै स्वास्थ्यको पाँचौं पञ्चवर्षीय योजना बनाएको थिएँ । पहिलो पटक दीर्घकालीन योजना हामीले नै बनाएका थियौं । मन्त्रालयमा स्वास्थ्य सचिव हुनुहुन्थ्यो मनमोहनलाल सिंह, उहाँसँग ठ्याक नमिलेर मैले राजीनामा गरिदिएको थिएँ । त्यो राजीनामा पत्र मन्त्रीजीकोमा पुग्यो । त्यतिखेर प्रधानमन्त्री डा.तुलसी गिरी हुनुहुन्थ्यो । उहाँसँग पनि चिनजान थियो । उहाँले ए डाक्टर साहेब राजीनामा फिर्ता लिनूस्, तपाईंले जहाँ भन्नुहुन्छ त्यहीं सारिदिन्छु भन्नुभयो । त्यसैबेला सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को गठन भयो । त्यतिबेला विभिन्न ६ वटा समितिहरू थिए । स्वास्थ्यपट्टि चाहिं अधिराजकुमारी प्रिन्सेप शाह हुनुहुन्थ्यो । उहाँ रेडक्रसको पनि सभापति हुनुहुन्थ्यो । उहाँचाहिं तत्कालीन राजा महेन्द्रको माहिलो भाई हिमालय विक्रम शाहकी श्रीमती हुनुहुन्थ्यो । नरशमशेर राणा र हेलेन शाहकी छोरी हुनुहुन्थ्यो । हेलेन शाहले मलाई स्वास्थ्य सेवा समन्वय समितिको पहिलो मेम्बर सेक्रेटरी बनाउनुभयो । मैले करिब त्यहाँ एक वर्ष काम गरें ।

लोकसेवा आयोगको सदस्यका रुपमा काम गर्दाको क्षण
राजा वीरेन्द्रले मलाई लोकसेवा आयोगको सदस्यमा नियुक्त गर्नुभयो । दुई कार्यकाल गरी जम्मा १२ वर्ष मैले लोकसेवा आयोगको सदस्य भएर काम गरें । २०४७ मा नेपालको नयाँ संविधान बन्यो । त्यसमा उमेर हद राखिदियो । पहिले उमेर हद थिएन । जति पनि संवैधानिक अंगहरू थिए, सबैमा ६५ वर्षको उमेर हद राखिदियो । त्यसपछि उमेर हदका कारणले म त्यहाँबाट रिटायर्ड भएँ । रिटाडर्य भएको दश वर्षजति कुनै पनि सरकारी कार्यालयमा थिइनँ । करिब ८–१० वटा सामाजिक संस्थाहरूसँग आबद्ध भएर काम गरें । त्यसपछि त्यसै बसिराखेको थिएँ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो, उहाँको पिएले राष्ट्रिय मानवअधिकारमा आउनुहुन्छ ? भनेर सोध्नुभयो । मैले भने– मलाई थाहा छैन, साथीहरूलाई सोधेर खबर गर्छु भनें । मैले रेडक्रसको अध्यक्षलाई पनि सोधें– मानव अधिकारमा जान सकिन्छ कि सकिंदैन ? रेडक्रस भनेको तटस्थ संस्था हो, गए हुन्छ भन्नुभयो । गिरिजाप्रसाद कोइरालाले आफैं फोन गर्नुभयो । मैले विचार गर्छु भन्दा गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय मानवअधिकारमा आउनुप¥यो, त्यसलाई ट्रयाकमा ल्याएर त्यसपछि छोडिदिए हुन्छ भन्नुभयो । २०५७ देखि २०६२ सम्म एक कार्यकाल राष्ट्रिय मानवअधिकार आयोगमा सदस्य भएँ । शुरु–शुरुकै अवस्थामा थियो राष्ट्रिय मानवअधिकार आयोग । नैनबहादुर खत्री त्यसको अध्यक्ष हुनुहुन्थ्यो । मानवअधिकार आयोगमा त्यसबेला केही पनि थिएन । आपूर्ति मन्त्रालय हरिहरभवनमा थियो त्यसबेला । त्यसैको एउटा कोठामा चाहिं हामीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बनायौं । चिया बनाउनेसम्म मान्छे थिएन । त्यसपछि आपूर्ति मन्त्रालय त्यहाँबाट सर्‍यो । त्यसपछि हामीले ३–४ वटा कोठा भयो । त्यतिबेला युएनडीपीले सपोर्ट गरेको थियो बास्केट फण्डमार्फत् । त्यसपछि हामीले स्टाफहरूको पनि नियुक्ति गर्‍यौं । आवश्यक सबै पूर्वाधार निर्माण गर्‍यौं । त्यसबेलामा माओवादीको द्वन्द्व बीचमा पुगेको थियो ।

मानवअधिकार आयोगको सदस्य भएर गरेका कामहरु
माओवादी द्वन्द्वमा थुपै्र घटनाहरू भएका थिए त्यसबेला । त्यस्तैमध्येको एउटा दोरम्बा घटनामा पनि हामी पुग्यौं । आयोगले नै त्यसको इन्भेष्टिगेशन गर्‍यौं । हरिहरि वस्ती, कनकमणि दिक्षितलगायत त्यसमा हुनुहुन्थ्यो । आयोग त्यहाँ गएर उत्खनन् गरेर १८ जनाको लाश निकालेर पोष्टमार्टम गरेर सबै अध्ययन गरियो । त्यो बेलामा माओवादीका १९ जनाको एउटा कोठामा मिटिङ बसेको रहेछ, आर्मीले थाहा पाएपछि आक्रमण ग¥यो । एकजना त्यहीं मर्‍यो, बाँकी १८ जनालाई हात पछाडि बाँधेर पक्राउ गरेर लिएर गयो । एक घण्टासम्म हिंडाएर लगेपछि भिर रहेछ, त्यहाँ सुट गर्दै भिरबाट झार्दै गरेको रहेछ । दोरम्बा काण्ड धेरै चर्चित थियो त्यतिबेला । अरु ठाउँमा पनि हामी गयौं । रुकुमको खारा भन्ने ठाउँ थियो । त्यहाँ पनि डेकेन्द्र थापाको हत्या भएको ठाउँ, खोटाङलगायतका ठाउँहरूमा गयौं । त्यसपछि ज्ञानेन्द्र राजा भएपछि विभिन्न राजनीतिक नेताहरूलाई जेल पठाउनुभयो, कतिपयलाई घरमै नजरबन्द गराउनुभयो । वामदेव गौतमलगायतका नेताहरूलाई पुलिसको तालिम केन्द्रमा राखेको थियो । त्यहाँ पनि भेट्न गयौं । गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाललाई घरमै नजरबन्द गरिएको थियो । हामीले त्यहीं गएर भेट्यौं । खुमबहादुर खड्काको घरमा आगो लगाइदिएको थियो । त्यहाँ पनि हामी हेर्न गयौं । २०६२ सालमा त्यहाँबाट रिटायर्ड भएँ । त्यसपछि भने म धेरैजसो जेष्ठ नागरिकको लागि काम गरिरहेको छु ।
अलिकति पुरानो कुरा पनि जोडौं । २०१० सालदेखि क्षयरोग निवारण संस्था स्थापना भयो । त्यसबेलाको चाखलाग्दो कुरा के भने त्यतिबेला प्रधानमन्त्री मातृकाबाबु हुनुहुन्थ्यो । उहाँ नै चेयरम्यान हुनुहुन्थ्यो । प्रधानमन्त्रीको चेयरम्यानसिपमा एनजीओ बनेको थियो । त्यतिबेला क्षयरोग भनेपछि निकै खतरनाक रोग हो । त्यसपछि नागेश्वरप्रसाद सिंह स्वास्थ्यमन्त्री हुनुभएपछि त्यसको अध्यक्ष स्वास्थ्यमन्त्री बन्नुभयो । २०२६ सालमा हामीले कुष्ठरोग निवारण संस्था स्थापना गर्‍यौं । त्यसको पनि म संस्थापक उपाध्यक्ष बनें । सन् १९६९ मा हामीले इन्टरकन्ट्रि सेमिनार गर्‍यौं । त्यस सेमिनारले कुष्ठरोगको लागि एउटा सामाजिक संस्था हुनुपर्छ भन्यो । म त्यसमा डाइरेक्टर थिएँ, त्यसपछि प्रिन्सेप शाह आउनुभयो । कुष्ठरोगीहरूको लागि संस्था स्थापना गरेर पहिलो मिटिङ प्रिन्सेपले नै गर्नुभयो । प्रिन्सेप शाहले नै शान्ति सिंहलाई त्यस संस्थाको अध्यक्ष बनाउनुभयो । मलाई उपाध्यक्ष बनाउनुभयो । आफूचाहिं सदस्य बन्नुभयो । २०४७ सालको प्रजातन्त्र आएपछि करिब दुई वर्षपछि शान्ति सिंहले राजीनामा गर्नुभयो । उहाँ गएपछि मचाहिं कुष्ठरोग निवारण संस्थाको अध्यक्ष भएँ । एक कार्यकाल मैले खाएँ । त्यसपछि पशुपति गिरीले भने कि दाजु म यसको अध्यक्ष हुनुप¥यो । त्यसपछि मैले अध्यक्ष छोडिदिएँ । अहिले पनि म त्यस संस्थामा रहेको छु । त्यतिबेला कोरीखाना भन्थ्यो । कुष्ठरोग लागेकालाई कोर भन्ने चलन थियो । त्यो हामीले सञ्चालन गर्‍यौं । स्याङ्जामा पनि थियो कुष्ठरोगका बिरामीहरू राख्ने ठाउँ । त्यसलाई चाहिं हामीले पूरै विस्थापित नै गरिदियौं । त्यहाँका कुष्ठरोगका बिरामीहरूलाई घर–घरमा पुनस्र्थापित गरिदियौं । पोखरामा पनि छ । खोकनामा अहिले पनि सञ्चालन छ । त्यहाँ त आश्रम नै बनाएर राखेका छौं । अहिले पनि त्यहाँ १ सय भन्दा बढी कुष्ठरोग प्रभावितहरूलाई खानासहितको सबै सुविधा दिएर राखिएको छ ।

जेष्ठ नागरिकहरुका लागि गरेका काम
जेष्ठ नागरिकको क्षेत्रमा हामीले २०३८ सालदेखि नै काम गरिरहेका छौं । जेष्ठ नागरिकका लागि केही गर्नुपर्छ भनेर हामीले सोचिरहेका थियौं । मेरो एकजना साथी हुनुहुन्थ्यो लिलादेवी केसी । उहाँकै पहलमा हामीले जेष्ठ नागरिकहरूका लागि काम गर्न शुरु गर्‍यौं । म त्यतिबेला भर्खरै लोकसेवा आयोगबाट रिटायर भएको थिएँ । हामीले त्यसपछि प्रौढ कल्याण संघको स्थापना गर्‍यौं । त्यो अहिले पनि चलिरहेको छ । त्यहाँ दिवा सेवा केन्द्र छ । त्यहाँ जेष्ठ नागरिकहरू जम्मा हुन्छन् । भजन–किर्तन हुन्छ । योग पनि गरिन्छ । हप्तामा एकचोटी हेल्थ चेकअप पनि गरिन्छ । औषधि पनि निःशुल्क दिइन्छ । त्यो हामीले २०३८ सालमा खोलेका थियौं । त्यसपछि क्रमशः दिवा सेवा केन्द्र खुल्दै गए । वृद्धाश्रमहरू खुल्दै गए । विभिन्न संस्थाहरू खुल्दै गए । मूलघाटमा रामनारायण श्रेष्ठले एउटा विश्रान्त मन्दिर खोल्नुभयो जेष्ठ नागरिकका लागि । पशुपतिमा बृद्धाश्रम खोलियो । देवघाटमा छ । गोदावरीमा खोलेको थियो, त्यो अहिले बन्द छ । पोखरामा छ । कञ्चनपुरलगायतका विभिन्न ठाउँमा छ । ती सबै दिवा सेवा केन्द्रहरूलाई समेटेर एड्भोकेसी हामीले ग¥यौं भने बढी प्रभावकारी हुन्छ भनेर हामीले लिलादेवी केसीकै अध्यक्षतामा राष्ट्रिय जेष्ठ नागरिक संस्था सञ्जाल नामाकरण गरेर अगाडि बढिरहेका छौं । त्यसपछि हामीले व्यक्तिगत र संस्थागत मेम्बर बनाएर चालीस वटा संस्था हाम्रा मेम्बर भइसकेका छन् । विकास योजनाहरूमा पनि जेष्ठ नागरिकको पहिला केही पनि थिएन । हामीले संस्थागतरुपमा विभिन्न मागहरू राख्यौं । जेष्ठ नागरिकहरूको बारेमा ऐन बनाउनुपर्छ भन्यौं । पछि–पछि मन्त्रालयबाट पनि सोध्ने कामहरू भयो, हामीले पनि फिडव्याक दियौं । सञ्जाल भनेको एउटा नेटवर्कमात्रै हो, यसलाई अझ प्रभावकारी बनाउनुपर्छ भनेर हामीले राष्ट्रिय जेष्ठ नागरिक महासंघ बनायौं ।

राष्ट्रिय जेष्ठ नागरिक महासंघले गर्दै आएको काम
पहिले ६६ जिल्लामा हामीले जिल्ला संघहरू गठन गर्‍यौं । छत्रदेव प्रधान हुनुहुन्छ, नेपाल प्रहरीको एसएसपीबाट रिटायर्ड भएको, उहाँ महासचिव हुनुभयो । उहाँकै प्रयासमा धेरै जिल्लामा विस्तार भएको छ । अहिले चाहिं ७२ जिल्लामा जिल्ला संघहरू छन् । हामीले हालसालैमात्र एउटा भेला गरेका थियौं जति पनि देशभरका करिब १०८ वटा बृद्धाश्रमका सञ्चालकहरू छन्, करिब ८० वटा दिवा सेवा केन्द्रका मान्छे, जिल्ला संघका सभापतिहरू गरी लगभग ३ सय जना डेलिगेटसहरू भेला भएर कार्यक्रम गरियो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्‍यौं । म सबैभन्दा बढी त्यसैमा समय दिन्छु । त्यसैगरी बीपी आई फाउण्डेशन अर्थात् बीपी नेत्र प्रतिष्ठान छ, म त्यसको पनि अध्यक्ष छु । मनोहराको आँखा अस्पताल छ । त्यसको सञ्चालन हामीले गर्ने हो । पूर्व कर्मचारी सेवा परिषद् छ, त्यसको संस्थापक सदस्य हुँ, अहिले सल्लाहकार छु । एल्जाइमर विस्मृत समाज छ, त्यसको पनि संस्थापक अध्यक्ष हो । त्यसैगरी नेशनल इलेक्सन अजर्भेसन कमिटी (नियोक)को संस्थापक हुँ, अहिले त्यसको पनि सल्लाहकार छु । त्यस्तै एकाउण्टिबिलीटी वाच कमिटी (एडब्लुसी)मा पनि छु । अर्को रुद्रराज साहित्य सेवा समितिको पनि संस्थापक तथा उपाध्यक्ष छु । मैले जेष्ठ नागरिकहरूको संस्थाका लागि सबैभन्दा बढी समय दिइरहेको छु । त्यस्तै बीपी नेत्र प्रतिष्ठानका लागि समेत त्यत्तिकै समय दिइरहेको छु ।

नयाँ पुस्तालाई सुझाव
सबैको घरमा जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ । बृद्धबृद्धाहरू हेपाइत्वको अवस्थामा पुगेको हुन्छन् । जेष्ठ नागरिकलाई सम्मान गर्नु कर्तव्य हुनेछ । आफ्ना परिवारका जेष्ठ नागरिकलाई बृद्धाश्रममा भर्ना गर्नु राम्रो होइन । जसको कोही पनि छैन र केही पनि छैन, उनीहरूलाई मात्र बृद्धाश्रममा राख्ने हो । आजको पुस्ता पनि भोलि जेष्ठ नागरिक हुने हो । त्यसैले जेष्ठ नागरिकको सम्मान गर्नु सबैको दायित्व हो । यसबाट सबैले पाठ सिक्नुपर्छ भन्न चाहन्छु ।

कस्तालाई दिइन्छ यो सम्मान ?
नेपाल जन प्रशासन संघका अध्यक्ष कृष्ण हरि बास्कोटाले भने– ‘राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तरराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्तो उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७५ का लागि डा. गौरी शंकर लाल दासलाई सर्वाधिक योग्य ठहर गरिएको हो ।’
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनका पूर्व महाप्रबन्धक हेमबहादुर मल्ल एक कुशल व्यवस्थापक भएको स्मरण गर्दै उनको स्मृतिमा राष्ट्र सेवामा समर्पित प्रशासक एवम् व्यवस्थापकहरुलाई सम्मान गर्ने पुनित कार्यमा जोड्न पाएकामा कर्पोरेशन परिवारले गर्व महशुश गर्दै आएको धारणा बताउनुभयो ।

अहिलेसम्म को–को भए सम्मानित
यस अघि हेमबहादुर मल्ल सम्मानबाट विभुषित हुनेहरुमा केदारभक्त माथेमा, चाँदनी जोशी, भगवान कोइराला, विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, डा.दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्रराज कँडेल, कुलमान घिसिङ र सुन्दुक रूइत छन् ।

प्रकाशित समय ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010