देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु-याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले काम गर्छ : सिइओ झा

काठमाडौं । आज साउन एक गतेदेखि सेवाअवधि समाप्त भएर विदाई भएका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले नेपाल लाइफले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु-याउन अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर प्रवाह गरिरहने विश्वास व्यक्त गरेका छन् । नेपाल लाइफमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृतबाट विदाई हुने क्रममा सो विश्वास व्यक्त गरेका हुन् । उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पूरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विदा हुँदैछन् ।
नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकांकमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एकतिहाई बजार हिस्सा कायम राख्न सफल भयो । सदैव आफ्ना सहकर्मी कर्मचारीहरुलाई आफ्नो मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्नुहुने झाले अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयरधनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाई कायम गर्न सकेकाले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेका छन् । सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना समेत व्यक्त गरेका छन् । संचालक समिति अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरे ।
प्रकाशित समय ०७:२७ बजे