पीपीईको अभावमा डाक्टरले जाँच्नै छाडे बिरामी

भक्तपुर । संसारभर कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त पारिरहेको समयमा त्यसको असर स्वभावैले नेपालमा पनि नपर्ने कुरै भएन । अन्य समयमा रुघा, खोकी, ज्वरोका बिरामीहरु आउँदा दैनिकरुपमा परीक्षण गरिरहने डाक्टरहरुले पनि यतिबेला बिरामी जाँच्न छाडेका छन् । भक्तपुुरको लोकन्थलीस्थित एक डाक्टरले यसअघि रुघा, खोकी, ज्वरोलगायत अन्य विभिन्न खालका रोग लागेर आउने बच्चाहरुको परीक्षण गर्ने गर्दथे । उनले बिहानको समयमा ८ बजेसम्म आफ्नै घरमा बिरामी बच्चाहरुको जाँच गर्ने गर्दथे । त्यसपछि भक्तपुरकै गठ्ठाघरस्थित नागरिक अस्पतालमा दिउँसो बालरोग विशेषज्ञका रुपमा काम गर्दै आएका थिए । पुनः बेलुका ७ बजेदेखि उनले आफ्नै निवासमा वरपरबाट ल्याएका बालबच्चाहरुलाई परीक्षण गर्दथे । उनी एक कहलिएका बालरोग विशेषज्ञ पनि हुन् ।
कोरोना भाइरसको त्रासकै कारण उनले केही दिन पहिलेदेखि घरमा आएका बिरामीलाई जाँच्न छाडे । उनले करिब एक साता भक्तपुरकै लोकन्थलीस्थित एक मेडिकलबाट बच्चाहरुको परीक्षण गर्ने काम गरे । तर जब नेपालमा पनि कोरोना भाइरसका बिरामीहरु भएको पुष्टिको समाचार बाहिरियो, ती डाक्टरले अहिले सम्पूर्णरुपमा बच्चाको परीक्षण गर्न छाडिदिएका छन् ।
कुनै बच्चालाई रोग लागेमा अहिले उनीसँग फोनमार्फत्मात्र सम्पर्क गर्न सकिन्छ । फोनमा रोगको लक्षण बताएपछि उनले ‘यो–यो औषधि खुवाउनूस्’ भनेर सल्लाह दिने गर्दछन् । र बिरामीका अभिभावकहरुले सोही बमोजिम मेडिकलबाट औषधि किनेर बिरामी बच्चाहरुलाई खुवाउँदै आएका छन् ।
उनी त एक प्रतिनिधिपात्र मात्रै हुन् । अहिले अधिकांश अस्पताल, क्लिनिकहरुमा रुघा, खोकी, ज्वरोलगायतका बिरामी परीक्षणका लागि पुग्दा भर्ना गर्न नै नमान्ने अवस्था सिर्जना हुन थालेको छ ।
राजधानीका धेरै नै नाम चलेका अस्पतालहरुले समेत रुखा, खोकी, ज्वरोले गाँजेका बिरामीहरुलाई भर्ना गर्न नमान्ने चलन तीव्ररुपमा बढेर गएको छ । यो सबैको कारण भनेको कारोरना भाइरस (कोभिड–१९) को त्रास नै भएको लोकन्थलीस्थित एक मेडिकलका सञ्चालकले क्रसचेकसँग बताए ।
बिरामी जाँच्दा आफ्नो सुरक्षाका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) नभएकै कारण आफूहरुले काम नगरिरहेको ती डाक्टरले बताए । उनले क्रसचेकसँग भने– ‘सबैभन्दा पहिले त हामी आफैं सुरक्षित हुनुप¥यो । यदि कुनै बिरामीलाई कोरोना भाइरस लागेको रहेछ भने त्यो आफूलाई सर्न सक्दैन है भन्ने निश्चितता त हुनुप-यो नि । हामीलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट पर्याप्तमात्रामा उपलब्ध हुने हो भने हामी जुनसुकै बेला पनि काम गर्न तयार छौं । तर त्यसको अभावमा कसरी काम गर्ने ?’
उनले भने– ‘यो भाइरस अन्यजस्तो होइन । यो एकदमै फरक खालको छ । हामी भाइरससँग जोगिएर काम गर्न चाहन्छौं । हामीलाई पीपीई उपलब्ध हुनुप¥यो । चौबीसै घण्टा सेवा गर्न तयार छौं ।’ यदि कुनै कारणले कोरोना भाइरस निकै फैलियो भने डाक्टरहरुले विनापीपीई कसरी काम गर्न सक्छन् ? पीपीई प्रशस्तमात्रामा व्यवस्था गर्न सरकार किन चुकिरहेको छ, अब त ब्यूँझने बेला भएन र सरकार !
प्रकाशित समय १६:३३ बजे