आईपे रेमिट नेपाल क्लियरिङ हाउसमा आबद्ध

बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि. नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको एनसीएचएल–आइपीएस र कनेक्टआइपीएस इ–पेमेन्ट प्रणालीहरुमा आबद्ध भएको छ । यो व्यवस्थासँगै आईपे रेमिटका कम मूल्यका भुक्तानी कारोबारहरु सो प्रणालीमार्फत् रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएस मार्फत् तोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिन्छ ।
एनसीएचएलले आफ्ना प्रणालीहरुमार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहजीकरण गरिरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार हो । यसमा हालसम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैरबैंक संस्थाहरु अप्रत्यक्ष–प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन् ।
६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । यसले १० लाखभन्दा बढी कामदारहरुको कडा परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यमबाट सहयोग गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ । हाल सबैजसो बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा यसका एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस इ–पेमेण्ट र कनेक्ट आरटीजीएस प्रणाली सञ्चालनमा रहेका छन् ।
प्रकाशित समय १३:४६ बजे