V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

भारतीय र देशै नचिन्नेहरूले रोजगारी पाइरहेका छन्

कुनै पनि पेशा व्यवसायहरू अर्थतन्त्रको विकास र सुदृढीकरणसँग सम्बन्धित हुन्छ । त्यो भनेको उत्पादन हो । उत्पादन नभई उत्पादनसँग जोडिएका सबै क्षेत्रलाई समस्या हुन्छ । आर्थिक वृद्धि भएन भने रोजगारी, राजस्व, राज्यले दिने सामाजिक सुरक्षा र पत्रकारहरूले पाउने पारिश्रमिक तथा स्वरोजगार मिडियाले पाउने विज्ञापनमा पनि प्रत्यक्ष असर पर्छ । आज देशमा त्यही आर्थिक वृद्धि सकारात्मक भइरहेको छ । ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको छ । सरकारले बढी बोल्यो भन्ने हो भने विश्व बैंकको रिपोर्टमा पनि त्यही तथ्यांक छ । यत्रो आर्थिक वृद्धि भइरहँदा पनि यो भएन, त्यो भएन भन्ने कुरा के हो ? हामीले त्यहाँभित्र केही कुरा मिलेका छैनन् भने मिलाउने कुरा हो तर समग्रमा मुलुकको क्षमता बढेको छ । आर्थिक वृद्धिदर बढेको छ । त्यो आर्थिक वृद्धिसँगै थप काम गर्ने राज्यको क्षमता पनि बढेको छ । व्यावसायिक वातावरण त्यसकै जगमा बन्ने हो । भारतमा ७ बाट ५ प्रतिशत आर्थिक वृद्धि हुने भयो भन्दा नेपालमा धेरै रुवाबासी छ, त्यो किन भइरहेको छ, मैले बुझ्न सकिरहेको छैन । हाम्रै आर्थिक वृद्धिदरका बारेमा अलि बढी चिन्ता गरौं । त्यसको केही हदसम्म हामीलाई असर पर्न सक्छ । त्यो हामीले हेर्छाैं । सरकारलाई सचेत पनि गराउनुस् । तर, यूरोपियन र अमेरिकी मुलुकहरूले ५ प्रतिशतको आर्थिक वृद्धि नदेखेको दशकौं भयो । भारतले त्यो देखिरहेको छ । ३ देखि ३.५ प्रतिशतको वृद्धि हुँदा अर्थतन्त्र ‘बुम’ भयो भन्छन् उनीहरू । एसियाली देशहरूले २ दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल गरेर हाम्रो बानी बिगारिदिए । ८ देखि १० प्रतिशतको वृद्धि दुई दशकसम्म हासिल गरिदिनुभयो । त्यसलाई म ‘मिराकल’ भन्छु, त्यो ‘मिराकल’ धेरै दिन टिक्दैन ।
उच्चदरको आर्थिक वृद्धि निश्चित समयमसम्म मात्रै हुन्छ, सधैं हुँदैन । विश्वव्यापी प्रकाशनहरूले पनि अविकसित अवस्थाबाट विकासशील देश बन्छ, तब त्यो आयको ट्रयापमा आफैं पर्छ । यसलाई ‘मिडल इनकम ट्रयाप’ भन्छ । किनभने ज्याला बढ्छ, मानिसले श्रम र विश्रामका बीचमा विश्राम रोज्छन् । श्रमभन्दा विश्रामलाई ध्यान दिएर बढी ज्याला नपाएसम्म मान्छेले काम गर्दैन । मान्छेले धेरै आराम खोज्न थालेपछि उत्पादन घट्छ । अनि मुलुकको प्रतिस्पर्धात्मक क्षमता घट्छ । प्रतिस्पर्धात्मक क्षमता घटेपछि मुलुकको निर्यात पनि घट्छ । आफ्ना उत्पादनहरू भनेजति प्रतिस्पर्धी नभएपछि आर्थिक वृद्धिमा अलिकति असर गर्छ । अहिले भारतमा पनि भएको त्यति मात्रै हो । अहिले विश्व व्यापारमा देखिएको तनावले निर्यातलाई अलि बढी नै प्राथमिकता दिएर आर्थिक वृद्धिमा योगदान गरिरहेका मुलुकहरूको आर्थिक वृद्धिमा केही समस्या देखिइरहेका छन् । तर यी समस्या क्रमशः हल हुँदै जानेछन् । विश्व आर्थिक र व्यापारिकरूपमा खुला नीतिबाट पछाडि जान सक्दैन । हामीजस्ता साना मुलुकहरूले भन्ने पनि यही नै हो । अर्काे कुरा मुलुकभित्र आर्थिक वृद्धि त हुन्छ तर त्यसले रोजगारी सृजना गरेन र असमान भयो भने के हुन्छ ? तपाईंहरूले उठाउनुपर्ने कुराचाहिं यो हो ।

अनुसन्धानमूलक कलम चलाइदिनु प-यो

हाम्रो आर्थिक वृद्धिले कति रोजगारी सृजना ग¥यो ? ५ लाखभन्दा बढी रोजगारी चाहिन्छ भनिएको थियो, कति सृजना भयो त ? यसलाई छलफलको विषय बनाइनुपर्छ । हामीले रोजगारी सृजना भएन कि भन्दा त अरुका लागि पो रोजगारी सृजना भइरहेका रहेछन् । प्यान अनिवार्य गरेपछि पोल खुलिरहेको छ । भारतीय र देशै नचिन्नेहरूले रोजगारी पाइरहेका छन् । नागरिकतै छैन, प्यान लिन सकिन्न भन्दै आइरहेका छन् । देशमा सृजना भएको रोजगारीबाट त अरुले नै पो लाभ लिइरहेका रहेछन् । कुराहरू उदागिंदै आएको छ । हामीले सृजना गरेको रोजगारीको अवसर नेपाललाई दिन सकिएन वा नेपालीहरूले काम गर्नै चाहेनन् वा अरु यस्तै केही भयो । यो विषयमा हामीले छलफल गर्नुपर्छ । पत्रकारहरूले अनुसन्धानमूलक कलम चलाइदिनुपर्नेछ । अर्काे कुरा, हामीले आर्थिक वृद्धि त गर्यौं तर त्यो कसको कारणले भयो ? त्यसमा कुनकुन क्षेत्रको योगदान बढी देखियो ? कुनै एकरदुई वटा उद्योगहरूले धेरै आम्दानी गरेर पो आर्थिक वृद्धि भएको हो कि ? वित्तीय क्षेत्र वा उद्योग वा कृषि वा व्यापार मात्रै बढेर हो कि ? भन्नेबारे छलफल गर्नुपर्छ ।

आर्थिक बृद्धिदरमा सबै क्षेत्रको सन्तुलित योगदान

म तपाईंहरूलाई स्पष्ट रूपमा भन्न चाहन्छु, गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सबै क्षेत्रको सन्तुलित योगदान छ । कृषिक्षेत्रको वृद्धि ५ प्रतिशतभन्दा माथि छ । अरु केही क्षेत्रको वृद्धि ८ प्रतिशतभन्दा बढी छ । र, समग्र आर्थिक क्षेत्रको वृद्धि ७.१ प्रतिशत माथि छ । कृषिबाहेक सबै क्षेत्रको योगदान ५ प्रतिशतभन्दा माथि रहेपछि ७.१ प्रतिशतको वृद्धिदर हासिल भएको हो । सबै क्षेत्रका आर्थिक क्रियाकलाप सन्तुलित ढंगले हासिल भएको छ । यो फेरि राजधानीलगायत तराई क्षेत्रको मात्रै आर्थिक वृद्धिले यो सफलता मिलेको होइन । सबै प्रदेशको आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा छ । प्रदेश र स्थानीय तहहरूमा साधन र स्रोत समन्यायिक ढंगले वितरण हुन थालेपछि त्यसले अर्थतन्त्रको विकासमा ठूलो भूमिका खेलिरहेको छ । जगबाट नै आर्थिक वृद्धिको आधार खडा भइरहेको छ । संघीयताको सन्दर्भमा यस्तो तथ्यांकको विश्लेषण गरिनुपर्छ । त्यसमा तथ्यांकहरूको अभाव हुन सक्छ । कहिलेकाहीं हामीलाई भ्रम पनि हुन सक्छ । अहिले ७ सय ६१ वटा सरकार छन् । तिनको राजस्व र बजेट छुट्टाछुट्टै छन् । साझा अधिकारका कुरा पनि छन् । अब वित्तीय संघीयता कार्यान्वयनका सवालमा प्रदेश र स्थानीय तहबाटै वित्तीय अनुशासन कायम होस्, लगानीको प्रतिफल नागरिकले पाऊन् भन्ने हाम्रो शुभेक्षा हो । राज्यले उठाएको स्रोतको दुरुपयोग रोक्न पनि कलम चलाउनुस्, हामी स्वागत गर्छाैं । मुलुक रुपान्तरित हुँदै गर्दा हामी आफू पनि रुपान्तरित हुनुपर्छ ।

बैंक, वित्तीय क्षेत्र तथा बीमाको पहुँच बढेको छ

हामीले कतिपय वित्तीय संस्था र सेवाहरूलाई पनि प्रदेश र स्थानीय तहसम्म पु¥याउनुपर्नेछ । त्यो अर्थमा पुँजी बजारलाई पनि त्यहीं पु¥याउने हो । त्यसको पहिलो आधार भनेको वित्तीय क्षेत्र नै हो । दुई वर्षमा बैंकका शाखा ५० प्रतिशतले बढेका छन् । डेढ वर्षको अवधिमा साढे ६ हजारबाट साढे ८ हजार पुगेछन् । म मन्त्री हुनुभन्दा अघि बीमाको पहुँच ५ प्रतिशतभन्दा माथि पुग्यो भन्नै पाइनँ । राष्ट्र बैंकको गभर्नर हुँदा निक्षेपको बीमा गर्ने व्यवस्था गरेपछि अढाई करोड खाता निक्षेप बीमाको दायरामा आएका छन् । त्यसमा लघु बीमा, सावधिक बीमा, अग्नि बीमाको हिस्सा पनि निकै कम छ । बीमाको पहुँच १० प्रतिशत भयो भन्ने सुन्दा निकै हर्षित हुनुपर्ने अवस्था थियो मै अर्थमन्त्री हुँदा । अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत नागरिक बीमाको दायरामा आएको भन्ने सुनेको थिएँ । अहिले सुन्दैछु, त्यो २५ प्रतिशत पुग्यो रे ! यो खुशीको कुरा हो । ५ वर्षमा ५ प्रतिशतबाट २५ प्रतिशत नागरिक बीमाको दायरामा आएको कुुुरा सानो प्रगति होइन । वित्तीय क्षेत्र पनि ३६५ स्थानीय तहबाट ७ सय ३५ स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् । बैंकहरूको नाफा बढेको छ, बीमाको पहुँच पनि बढेको छ । त्यति धेरै बीमा कम्पनीहरू थपिँदा बजारले स्वीकार्न सक्ला त ? भन्ने प्रश्नचिन्ह पनि थियो । ती कम्पनी पनि पहिलो वर्षदेखि नै नाफामा गएका छन् । बैंकिङ क्षेत्र नाफामा, बीमाक्षेत्र नाफामा, उद्योगहरूको क्षमतामा अभिवृद्धि, औद्योगिक उत्पादनमा बढोत्तरी छ । सेवाक्षेत्रका अरु व्यवसाय पनि विस्तार भएकै छन् । अनि तिनै क्षेत्रको प्रतिनिधित्व हुने शेयर बजारमा तपाईंहरूका गुनासा सुन्नु परिरहेको छ ।

हस्तक्षेप गर्ने अवसर हामीलाई नदिनुस्

भ्याटको कुरा अर्थमन्त्री हुुनुभन्दा अघि नै नलगाउनु भनेको थिएँ । पुँजीगत लाभकर गणनाका विषयमा केही दुविधा छन् । नेप्सेका जीएम यहीं हुनुहुन्छ, उहाँलाई मैले स्पष्टसँग भनिदिएको छु । धितोपत्र बोर्डलाई पनि भनिदिएको छु । नेपाल राष्ट्र बैंकको हकमा पनि मैले स्पष्टसँग भनेको छु कि तपाईंहरू नियामक हो, त्यहीअनुसार काम गर्नुस् । अर्थ मन्त्रालयलाई नियामकको पनि नियामक बनाउने मौका नदिनुस् । तपाईंहरूले काम गरुञ्जेल हामी केही गर्दैनौं । आफ्नो काम जिम्मेवारीपूर्वक गर्नुुस् । हामी तपाईंलाई स्याबासी दिन्छौं । हस्तक्षेप गर्ने अवसर हामीलाई नदिनुस् । हामी आरोपित हुन चाहँदैनौं । आफ्नो काम ढंगसँग गरुञ्जेल हामी छुँदैनौं । तपाईंहरूले बल पास गर्ने काम नगर्नुस् । अंग्रेजीमा एउटा उखान छ ‘यु क्यान टेक हर्स टु द वाटर, बट यु कान्ट मेक इट ड्रिङ्क ।’ घोडालाई पानीसम्म लैजान सक्नुहुन्छ तर पानी पिउने काम घोडाको हो । मलाई लाग्छ, हाम्रो घोडा सक्षम छ, पानी पिउँछ, काम पनि गर्छ ।

सिंगो अर्थतन्त्र नै उकास्नुपर्ने चिन्ता

तपाईंहरूलाई सेयर बजार उकास्नुपर्ने चिन्ता छ । अर्थमन्त्रीलाई सिंगो अर्थतन्त्र नै उकास्नुपर्ने चिन्ता छ । मैले अलि ठूलो चिन्ता लिएर हिंड्नुपर्छ, सोच्नुपर्छ । त्यसैले तपाईंहरूसँग सधैं संवाद र छलफल गर्ने समय मसँग हुन्न । समग्र अर्थतन्त्र उकास्ने जिम्मेवारी बोकेर हिँडिरहँदा अरु त्यसकै अंग हुन् भन्ने मेरो बुझाई हो । ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नलाई केके गर्नुपर्छ, त्यो हामीलाई थाहा छ । कति लगानी गर्नुपर्छ, कति पूँजीगत खर्च गर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ । हामी पुँजीबजारबाट पैसा उठाउनैपर्छ भन्ने निष्कर्षमा छौं । आईपीओ, एफपीओ वा दोस्रो बजार नै किन भन्नुस्, सबै ढंगले धितोपत्र बजारको भूमिका अपरिहार्य हुन्छ । त्यसका लागि सुदृढ पुँजी बजार चाहिन्छ भन्ने सरकारको निष्कर्ष हो । तर शेयर निष्काशन गर्दा शेयर बिकेन भने त्यसलार्ई चाहिं राम्रो मान्न सकिन्न । मेरो एउटा अनुरोध छ– बजारलाई खेलौना नबनाउनुस् । खेलाउना बनाउन लागियो भने आगोलाई खेलाउन थाल्दा कहिले काहीं आफैं जल्ने अवस्था आउँछ ।
बजेट भाषणपछि म २/३ महिना खुल्ला कार्यक्रममा आइनँ । त्यो अवधिमा चामल बेच्नेहरू आएनन् भनेर पिठो बेच्नेहरूले हैरान पारे । चामल बेच्नेहरू त कामै नलाग्ने हुन थालियो । चामल बेच्नुपर्ने रहेछ भनेर म यहाँ आएको हुँ । विद्वानहरू सहनशील हुन्छन् भन्ने सुनियो, तर गालैमा चड्कन हानिरहँदा पनि सहेर बसिरहनुपर्ने हो र ! विद्वता पनि अचम्मको हुनेरहेछ । महात्मा गान्धी चाहिं एउटा गालामा थप्पड हान्यो भने पनि अर्काे गाला थाप्नुहुन्थ्यो रे ! हामीले चाहिं त्यस्तो गर्न सकेनौं । २/४ चड्कन हानी नै सक्नुभयो । अब हाम्रा कुरा सुन्नुस् । हामी चड्कन चाहिं हान्दैनौं ।

गलत सूचना नदिनूस्

कहाँ अर्थतन्त्र बिग्रिएको छ, छलफल गरौं । गलत सूचना नदिनुस् । तपाईंको चड्कनले तपाईंलाई नै पीडा होला । तपाईंको करिअर बिग्रेला । तर, चश्मै दोषी भएपछि के गर्ने ? म पनि प्रोफेसनल करिअरबाट आएको मान्छे हुँ । हिजो पनि तपाईंहरूसँगै थिएँ र भोलि पनि हुनेछु । तपाईंहरूले भोलि पनि मसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था बनिरहोस् । म पनि त्यही गर्नेछु । म हिजो सत्य बोल्थें, आज सत्य बोल्छु र भोलि पनि सत्य नै बोलिरहनेछु । तपाईंहरूले पनि त्यसै गर्नुहोला । हाम्रो चामललाई कनिका नभन्नुस् । मक्किएको छ नभन्नुस्, जे देख्नु भएको छ, त्यही भन्नुस् । हामीले गत वर्षलाई समृद्धिको आधार वर्ष भन्यौं । यसपालीलाई विकास वर्ष भनेका छौं । हाम्रो मात्रै प्रयासले त्यो उद्देश्य पूरा हुँदैन । निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नुपर्नेछ । विदेशी लगानी पनि भित्र्याउनुपर्नेछ । त्यसको वातावरण बनाउनेचाहिं तपाईं पत्रकारहरूले हो । त्यसका लागि सकारात्मक भूमिका खेलिदिनुस् । सरकारले गरेको राम्रो काम बताइदिने र नराम्रो काम गरेको छ भने झकझकाइदिने कामलाई निरन्तरता दिनुस् । हामीले गरेका सुधारका प्रयासहरूले राम्रो नतिजा दिनेवाला छ । म आजै यो वर्ष यस्तो–यस्तो हुनेछ भन्दिनँ, त्यो ज्योतिष जस्तो हुन्छ । तर, हरेक ढंगले गत वर्षभन्दा यो वर्ष राम्रो हुनेछ । सरकारी खर्च र निजी क्षेत्र तथा वैदेशिक लगानीकै सन्दर्भमा पनि राम्रो हुनेछ ।

कसै–कसैले पिठो बेच्ने प्रयास गरिरहेका छन्

यहाँ कसै–कसैले पिठो बेच्ने प्रयास गरिरहेका छन् । दाताहरूले पत्याएनन्, वैदेशिक सहायता आएन, विदेशी लगानी कम भयो भनेर । गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षमा ५५ अर्बको वैदेशिक लगानी प्रतिवद्धता आएको रहेछ । गत वर्ष ५७.५ अर्बको प्रतिबद्धता आएको देखियो । हामीले स्वीकृत गरेको लगानीलाई रकममै परिवर्तन गरेर ल्याउन भने सकेका छैनौं । लगानीको प्रतिवद्धता, सम्झौता र लगानी भित्रिने कुरा फरक–फरक चरण हुन् । कहिले वन, कहिले जमिन, कहिले के समस्याका कारण अलि ढिलो हुने गरेको छ । त्यसलाई सुल्झाउन एकद्वार प्रणाली पनि कार्यान्वयनमा ल्याएका छौं । कानूनहरू पनि संशोधन गरिसकेका छौं । अब विदेशी लगानी पनि बढ्छ । दाताहरूले दिन्छु भन्ने रकमको हिस्सा पनि बढिरहेकै छ । १३ खर्ब रुपैयाँ दाताहरूले दिन्छु भनेका छन् तर हामी जम्मा २ खर्ब खर्च गरेर बसिरहेका छौं । यति धेरै स्रोत छ तर सरकारले खर्च गर्न सकेन । यसपाली हामीलाई खर्च नगर्ने छुट छैन । बजेटमै सहयोग गर्ने क्रम पनि बढिरहेकै छन् । सरकारको वित्तीय अनुशासनप्रतिको विश्वसनीयता हो । तर पनि दाताले पत्याएनन् भन्न पनि भ्याउँछन् मान्छेहरू । त्यसकारण पनि म पिठो बेच्नुपर्ने रहेछ भनिरहेको छु र सार्वजनिक कार्यक्रमहरूको उपयोग गरिरहेको छु ।
कुन मुलुकमा लगानीको वातावरण कस्तो छ भनेर हेर्दा कानूनदेखि नियमन, सुशासन, प्रशासकीय व्यवस्था, गोदाम घर, कुरियर, यातायात सेवासम्म जोडिन्छन् । यसमा ५ नम्बर ल्याउने देशलाई राम्रो मानिने रहेछ । हाम्रो देशले २.५ अंक ल्याएको रहेछ । आगामी वर्ष हामीले ३ अंक ल्याउने सोच बनाएका छौं । डुइङ बिजनेशमा पनि त्यही नै हो । कतिपय अवस्थामा देशकै बारेमा पनि गलत तथ्य रिपोर्टिङ भइरहेको पायौं । नेपाल सरकारले दिएको तथ्यांक गलत छ भनेर लबिङ भइरहेको छ । आफ्नै देश र अर्थतन्त्रबारे गलत ब्रिफिङ भइरहेको छ । अजम्बरीको बुटी लिएर को नै आएको छ र लाइफ ज्याकेट नै लगाएको रहेछ भने सँगै डुबाउने हो अब । देशकै विरुद्ध लबिङ नगर्नुस्, देशको साख गिराउने काम नगर्नुस् । हामी एउटै डुंगाका यात्री हौं । सरकार त आइरहन्छ, गइरहन्छ । अर्थतन्त्र एउटै हो, त्यसलाई डुबाउने काम नगरौं । तपाईंहरूका कुरा बुझ्न म पनि तयार छु, तपाईंहरू पनि तयार हुनुहोस्, सहकार्य गरौं । (नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को दशौं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री डा.अतिवडाद्वारा व्यक्त विचारको सम्पादित अंश)

प्रकाशित समय २२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010