चेम्बर अध्यक्ष श्रेष्ठद्वारा आर्थिक विषयमा दूतावासका कर्मचारीसँग छलफल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित चेम्बरका पदाधिकारीहरुले नेपालका लागि चीनको बेइजिङस्थित नेपाली राजदूतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थित राजदूतावासका मिनिस्टर पराजुलीसँग आपसी व्यवसाय प्रबद्र्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए । उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढी पर्ने, जिरो ट्यारिफ र ८ अंकको एच.एस. कोड प्रयोग हुने हँुदा शून्य भन्सार सुविधा लिन गाह्रो, सर्टिफिकेट अफ ओरिजिन कुनस्तरको लागि कस्तो आवश्यक पर्ने आपसी छलफलबाट तय हुनुपर्ने बताए । उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपालप्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पूरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिए । चीन पहिलो बैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भएता पनि विभिन्न समझदारी तथा द्विपक्षीय सम्झौता समयमा नै कार्यान्वयन हुनुपर्ने बताउँदै पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यवसायिक कृषि, खनिज, सिमेन्ट, जडिबुटी, उद्योग र शिक्षा रहेको धारणा राखे ।
अध्यक्ष श्रेष्ठले चीनले प्रदान गरेको ४ वटा समुद्र्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहको अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताए । उनले केरुङ, काठमाडौं, लुम्बिनी रेलवेको कार्य तीव्रताका साथ अगाडि बढाउनुपर्ने र चीनको सिसिपिआईटी र नेपालको निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधि मण्डलको आदान–प्रदान, सूचनाको आदान–प्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदूताबासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा गरेका थिए ।
सो भेटमा चीनको बेइजिङस्थीत नेपाली राजदूतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीले दुईपक्षीय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने प्रतिबद्धता जनाए ।
प्रकाशित समय ०८:०६ बजे



















