एनआईसी एसिया बैंक र गुराँस लाइफबीच बैंकास्योरेन्स सम्झौता
निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै शाखा संख्या बनाउन सफल एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एनआईसी एसिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ४१ शाखाहरुबाट सहजरुपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायममुकायम प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरका छन् । बैंकले मुलुकभर २ सय ४१ शाखाकार्यालयहरु, २ सय ३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने गरिरहेको छ । मुलुककै सबैभन्दा ठूलो बैंकको रुपमा रहेको एनआईसी एसिया बैंकको वासलातको आकार १ सय ८५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कूल निक्षेप करिब १ सय ५५ अर्ब रुपैयाँ तथा कर्जा १ सय २८ अर्ब रुपैयाँ रहेको छ ।
प्रकाशित समय ०९:०३ बजे





















