MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

सर्पदंश प्राथमिक उपचार केन्द्रलाई हस्पिटलमा स्तरोन्नति गरिने

छोटो अवधिमै चार दर्जनभन्दा बढीको सफल उपचार

उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित सर्पदंश प्राथमिक उपचार केन्द्रलाई हस्पिटलमा स्तरोन्नति गरिने भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले सर्पले डसेर सो सर्पदंश उपचार केन्द्रमा उपचार गर्न आएकी १६ वर्षीया अस्मिता राईको मृत्यु भएपछि मृतकका अभिभावकसँगको छलफलका क्रममा सो कुरा बताएका हुन् ।
बेलका नगरपालिकास्थित पारुहाङ चौक निवासी विष्णुकुमार राईकी १६ वर्षीया छोरी अस्मिता राईलाई सर्पले डसेपछि सो सर्पदंश उपचार केन्द्रमा उपचार गराउन पु¥याइएको थियो । यही भदौ ११ गते उपचारकै क्रममा उनको मृत्यु भएको थियो । सोही विषयलाई लिएर उनका आफन्त तथा छरछिमेक, जनप्रतिनिधिलगायत बेलका नगर प्रमुख दुर्गाकुमार थापाको उपस्थितिमा एक वृहत छलफल भयो । छलफलमा उपचारमा संलग्न प्राविधिकहरुसँग समेत उपचारको बारेमा जानकारी लिइएको थियो ।
मृतकका अभिभावक विष्णुकुमार राईले सो छलफलमा भने– ‘जे नहुनुपर्ने थियो, भइगयो, अब यस्तो नहोस् । तर, मेरी छोरी जीवितै रहने केही न केही कार्य गरिपाऊँ ।’ सो आग्रहपछि नगरप्रमुख दुर्गाकुमार थापाले भने– ‘तपाईंकी छोरी हाम्री पनि छोरी हुन्, हामी सबैलाई दुःख लागेको छ । तपाईंहरुको प्रस्ताव धेरै राम्रो छ । यहाँ सर्पदंश प्राथमिक उपचार केन्द्र छ । यस केन्द्रलाई अब हामी सर्पदंश हस्पिटल बनाउने छौं र यो हस्पिटललाई ‘अस्मिता राई सर्पदंश हस्पिटल’ नाम राख्ने छौं ।’ हाम्री छोरी अथवा नेपालीको औषत आयुमा ८०÷९० वर्ष बाँच्दथिन् भने कहिल्यै पनि नमर्ने नानीको जहिले पनि अजर–अमर हुने कार्य गर्न सकौं भन्ने वचनबद्धता मेयरले गरेपछि त्यो सुनेर मृतकका अभिभावक हर्षविभोर भएका थिए । मृतकका अभिभावकले सोचेभन्दा बढी उपलब्धि हात परेको भन्दै खुशी व्यक्त गरेका थिए । सो सर्पदंश उपचार केन्द्रमा अनुभवी प्राविधिक राजेश भट्टराईको नेतृत्वमा उपचार भइरहेको छ । सो उपचार केन्द्रबाट स्थापनाको छोटो अवधिमै हालसम्म चार दर्जनभन्दा बढीको सफल उपचार गरिसकेकोमा एकजनाले मात्र ज्यान गुमाउनु परेको छ ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु