Nabil add_1100x100
GIBL 1000 x 100

समृद्ध नेपालको महत्वपूर्ण आधार भनेको पर्यटन नै हो

दुर्गादत्त ढकाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथाम)का कार्यकारी निर्देशक हुन् । शैक्षिक कार्यक्रमहरू र तालिमहरू सँगसँगै सञ्चालन गरिरहेको सरकारी स्तरबाट सञ्चालित नाथामले गुणस्तरीय जनशक्ति उत्पादन गर्दै आएको छ भने सेवा पनि गुणस्तरीय नै दिने भन्ने मान्यताका साथ काम गरिरहेको छ । गुणस्तरीय शिक्षा प्रदान गरिरहेकै कारणले नाथामले विद्यार्थी भर्नाका लागि अन्य कलेजले जस्तो व्यापकरुपमा प्रचारप्रसारमा जुट्नु पर्ने स्थिति नरहेको उनी बताउँछन् ।
कार्यकारी निर्देशक ढकाल भन्छन्– ‘हामीकहाँ भर्ना खुल्नासाथ धेरै संख्यामा दरखास्त पर्छ । यसबाट हामीले सबैलाई भर्ना लिनसक्ने अवस्था छैन । नाथाम मानित विश्वविद्यालय भइसकेको अवस्थामा अब बढी संख्यामा भर्ना लिएर सातवटै प्रदेशमा जाने सोचमा छौं । किन भन्दाखेरि हामीले पनि संघीय संरचनालाई नै आत्मसात गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।’


उनी भन्छन्– ‘सातवटै प्रदेशमा तालिम सञ्चालन गर्ने र शैक्षिक कार्यक्रम सञ्चालन गर्न नाथामका शाखाहरू स्थापना गर्ने हाम्रो सोच छ । ती शाखाहरू स्थापना भइसकेपछि धेरै दूरदराजबाट काठमाडौं आइराख्नु पर्दैन ।’
‘हामीले निकट भविष्यमै सातवटा प्रदेशमा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा हाम्रा शाखा विस्तार गर्छौं । त्यो शाखाहरूबाट नै तालिम दिन्छौं । त्यो भइसकेपछि नेपालमा हुने टुरिजम बिजनेसमा लाग्नेहरूको लागि, नेपालमा आउने टुरिष्टहरूको लागि त्यसले ठूलै महत्व राख्छ भन्ने हाम्रो मान्यता छ’ ढकालको भनाई छ ।
कार्यकारी निर्देशक ढकाल भन्छन्– ‘हामीले ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट गरी दुई दुईखालको कार्यक्रम सञ्चालन गरिरहेका छौं । भोलि मानित विश्वविद्यालय भइसकेपछि पर्वतारोहणसम्बन्धी प्रशिक्षण पनि यहाँ गर्ने हो कि भन्ने नेपाल सरकारको सोचाई पनि छ, हाम्रो पनि यही हो । त्यो भयो भने एउटा नयाँ थपिन्छ । अहिले हामीले ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट क्षेत्रमा गरिराखेका छौं ।’
नाथाममा विद्यार्थी भर्ना हुनलाई त्यति सहज भने छैन । उनी भन्छन्– ‘सोर्सफोर्स भन्दा पनि विद्यार्थीहरूको क्षमताकै आधारमा यहाँ भर्ना गर्ने गरिएको छ । जसका लागि नाथामको एउटा आधार छ । त्यो आधार भनेको सिम्याटमा कति नम्बर ल्यायो, त्यो सिम्याटको ५० प्रतिशत, +२ मा कति मार्क ल्याएको छ, त्यसको ३० प्रतिशत जोडिने, गु्रप डिस्कशनमा कति ल्याएको छ, त्यसको १० प्रतिशत जोडिने अनि इन्टरभ्यूको १० प्रतिशत जोडिने गरेर १०० प्रतिशत पु¥याएर उनीहरूको मूल्यांकन हुन्छ । साह्रै कमजोर विद्यार्थीहरू अहिलेको अवस्थामा यहाँ भर्ना हुनसक्ने अवस्था छैन ।’
ढकाल भन्छन्– ‘यसलाई हस्पिटालिटी बिजनेश भनौं– ट्राभल एण्ड टेुरिजम र होटेल म्यानेजमेन्ट । दुईवटा कम्बाइन गर्दाखेरी हस्पिटालिटी बिजनेश भएको हो । सबैभन्दा खुशीको कुरा के छ भने नाथामबाट उत्पादित विद्यार्थीहरू शतप्रतिशतले रोजगारी पाउँछन् ।’ अहिलेको स्थिति पनि त्यही हो । यहाँ पढेका विद्यार्थीहरूले देश तथा विदेशको जुनसुकै ठाउँमा गए पनि बेरोजगारी बस्नु पर्दैन ।’ ढकालको भनाई छ– ‘हस्पिटालिटी बिजनेश भनेको यस्तो हुन्छ कि विदेशीहरूलाई पनि राम्रो मान्छे चाहिने, अनि नेपालीहरूलाई पनि चाहिने भएको हुनाले उनीहरूलाई रोजगारीको अवसर देशभित्र पनि उत्तिकै छ र देशबाहिर पनि छ । यहाँबाट उत्पादित जनशक्ति देशभित्र स्वरोजगारमा पनि छन्, अरुको रोजगारमा पनि छन् । विदेशमा पनि छन् । आजसम्म १०÷१२ हजारभन्दा बढी विद्यार्थी उत्पादित भइसकेका भए पनि यहाँ पढेको एकजना पनि विद्यार्थीले मैले काम पाएको छैन भनेर भनेको अवस्था छैन ।’
अहिले सबैले भन्ने गरेको मुलुकको समृद्धि प्राप्त गर्ने एउटा महत्वपूर्ण आधार भनेको नै पर्यटन क्षेत्रको व्यापक विस्तार गर्नु हो । ‘यसमा सबै जनाले आ–आफ्नो क्षेत्रमा योगदान गर्दै अगाडि बढेको खण्डमा नेपाल समृद्ध बन्छ, नेपालीहरू सुखी बन्छन्, यसको एउटामात्रै अथवा महत्वपूर्ण आधार भनेको पर्यटन हो भन्ने मलाई लाग्छ’ कार्यकारी निर्देशक ढकालको भनाई छ ।’

प्रकाशित समय २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु