1100×100 Nabil Advert

पशुपालनबाट मासिक दुई लाख बचत

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-६ का गङ्गाधर न्यौपाने साँझ, बिहान गोठमा र दिउँसो कक्षा कोठामा व्यस्त रहनुहुन्छ । पेसाले शिक्षक रहे पनि न्यौपानेले विगत चार वर्षदेखि व्यावसायिक पशुपालन गरेर कृषि क्षेत्रमा आफूलाई सफल बनाउनुभएको छ ।

गौरादेवी नवीन कृषि तथा पशु फार्म दर्ता गरी व्यावसायिक पशुपालन गर्नुभएका न्यौपाने कावासोती नगरपालिकाको उत्कृष्ट किसानका रूपमा पुरस्कृत पनि हुनुभएको छ । “छ भैँसीबाट सुरु भएको मेरो व्यावसायिक पशुपालन अहिले २७ वटा भैँसी र गाई भएका छन्”, उहाँले भन्नुभयो, “मासिक ३५ सय लिटर दूध बिक्री गर्ने गरेको छु ।”

स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले दिउँसो कावासोती-४ मा रहेको सरस्वती माविमा अध्यापन गर्नुहुन्छ । पछिल्लो समय कृषि पेसामा युवाको आकर्षण घटेको समयमा उहाँले रु ३५ लाखको लगानीबाट पशुपालन सुरु गरेको बताउनुभयो ।

“बाबुबाजेदेखि गर्दै आएको पेसालाई मैले व्यावसायिक रूप दिएको हुँ । शिक्षण कार्यबाट बचेको समय सदुपयोग भएको छ”, न्यौपानेले भन्नुभयो, “पशुपालन व्यवसायलाई अझ टिकाउन गत वर्षदेखि आफ्नै दुग्ध डेरी पनि सञ्चालन गरेको छु ।”

पशुको स्याहारसुसारदेखि व्यवस्थापनमा आफैँ घटिने गर्नुभएका न्यौपानेले अहिले दुई जनालाई रोजगारी दिनुभएको छ । बैंकको ऋणबाट सुरु गरेको पशुपालनले अहिले लगानी कटाएर प्रशस्त आम्दानी दिन थालेको न्यौपानेले बताउनुभयो । सबै खर्च कटाएर मासिक रु दुई लाखसम्म बचत हुने उहाँले जानकारी दिनुभयो ।

विद्यालयमा गणित विषय पढाउने न्यौपानेको अहिले दुई वटा परिचय बनेको छ । बिहान साँझ कृषकको रूपमा परिचय बनाउनुभएका उहाँले दिउँसो शिक्षकको रूपमा पहिचान स्थापित भएको छ ।

बिहान विद्यालय जानुभन्दा अगाडिसम्म श्रीमतीसहित गोठको काममा खटिने जनाउँदै न्यौपानेले दिउँसोका लागि पनि कामको प्रबन्ध गरेर विद्यालय जाने गरेको बताउनुभयो । “बिहान तीन बजे उठेर गोठमा खटिन्छु । १९ वटा गाईभैँसी अहिले दुहुना छन् । श्रीमती र म मिलेर दुहुनदाहान सकेर दूध बिक्रीका लागि लैजान्छाँै”, उहाँले भन्नुभयो, “कावासोती बजारमा दूध डेरी खोलेका छौँ । त्यहाँबाट मासिक सात हजार पाँच सय लिटर दूध बिक्री हुने गरेको छ ।”

गाईभैँसीका लागि आवश्यक पर्ने दाना, पराल आफैँले तयार पार्ने गरेको न्यौपानेले बताउनुभयो । करिब तीन बिघा जमिनमा उन्नत जातका घाँस लगाइएको उहाँको भनाइ थियो । पराल र हरियो घाँस मिलाएर दानापानी व्यवस्थापन गर्ने गरेको न्यौपानेले बताउनुभयो । पशुपालनमा विगतमा केही समस्या पर्ने गरेको भए पनि अनुभव र योजनाले हिजोआज सहज भएको उहाँको भनाइ थियो ।

“मसँगै पशुपालन सुरु गरेका नगरपालिका क्षेत्रका ११ जना युवा साथीहरू यो पेसाबाट पलायन भइसक्नुभयो”, न्यौपानेले भन्नुभयो, “सबै कामदार मात्रै लगाएर पशुपालन गर्छु भन्ने हो भने सफल भइदैन । आफू पनि नियमित काममा खटिने हो भने असफल हुनुपर्दैन ।”

प्रकाशित समय १२:१२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु