1100×100 Nabil Advert

सङ्घीयता संस्थागत गर्नुपर्ने उपाध्यक्ष सोनलको जोड

बारा । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलले सङ्घीयतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । परवानीपुर गाउँपालिका-२ रामपुर टोकनी लोसपा वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीयतालाई सबल तुल्याउनुपर्ने बताउनुभयो ।

सङ्घीयता लागु भएसँगै तीनै तहका सरकारले विकासका आयाम बढाएको उल्लेख गर्दै उपाध्यक्ष सोनलले विकास निर्माणका कामले गति लिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँदेखि जिल्ला सदरमुकामसम्म जोड्ने पक्की बाटो निर्माण भएको छ । पुलपुलेसा, कलभर्ट, अस्पताल, विद्यालय, मठमन्दिर निर्माण भएका छन् । ठाउँठाउँमा सार्वजनिक शौचालय निर्माण भएका छन् ।”

आमजनता सामु राज्यद्वारा प्रदान गरिने सेवा पुर्‍याउनुपर्नेमा जोड दिँदै नेता सोनलले बेथितिलाई न्यूनीकरण गर्ने काममा तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभयो । “सङ्घीयता नचाहने केही शक्ति सलबलाइ रहेका छन् । त्यस शक्तिलाई परास्त गर्नका लागि सङ्घीयता पक्षधर शक्ति एकजुट हुनुपर्छ ।” उहाँले भन्नुभयो ।

मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सोनलले तराई–मधेसका जनताको मुक्ति गर्ने एक मात्र मधेसी पार्टी लोसपा भएको दाबी गर्दै लोसपा पार्टीले नै मधेसमा आमूल परिवर्तन गरेर ‘समृद्ध मधेस, सुखी मधेसी’को नारा सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित समय १३:०२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु