‘उनी उर्मिला’ महाकाव्यको लोकार्पण

काठमाडौं । साहित्यिक आकाशमा एउटा महाकाव्य थपिएको छ । हालैमात्र राजधानीमा कवि बाजुराज पौडेलद्वारा लिखित ‘उनी उर्मिला’ नामक महाकाव्य लोकार्पण गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानको ९८ औं आख्यान वाचन कार्यक्रमकै अवसरमा सो महाकाव्य समेत लोकार्पण गरिएको थियो । संरक्षक वरिष्ठ पत्रकार, आख्यानकार तथा नियात्राकार विजय चालिसेको सभापतित्व र प्रा डा. ऋषिराम पोखरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । भाषा साहित्यका शीर्ष पुरुष तथा नेपाली वृहद शब्दकोशकार वसन्तकुमार शर्मा नेपाल, महाकाव्यकार लक्ष्मीकुमार कोइराला, खगेन्द्र खोल्साघरे, बुनू लामिछाने, डा. दुर्गाप्रसाद अर्याल, डा.विदुर चालिसे, प्रतिष्ठानका सल्लाहकार दीपकसिंह भण्डारी, माधव खनाल, श्यामबहादुर लामा लगायत कार्यक्रममा सहभागी थिए ।
वरिष्ठ समालोचक तथा प्रतिष्ठान र सुलेख मासिकका संरक्षक युवराज मैनालीले उक्त महाकाव्यको समीक्षा गरेका थिए । उनले महाकाव्यको परिभाषा, उद्भव, विकास र पूर्वीय तथा पाश्चात्य महाकाव्यका विभेदको चर्चा गर्दै नेपाली महाकाव्यको हालको अवस्थाका सन्दर्भसँग बाजुराम पौडेलको महाकाव्य ‘उनी उर्मिला’लाई जोडेर महाकाव्यले अवलम्बन गरेको भू–प्रकृति, तत्कालीन समाज, इतिहास संस्कृति तथा राजनीतिका पृष्ठभूमिमा देखा परेका चरित्रहरूको उल्लेख गर्दै पारिवारिक प्रसंगको नवीन प्रयोग भएको सफल महाकाव्यको रूपमा रहेको टिप्पणी गरेका थिए ।
त्यसैगरी प्रतिष्ठानका अर्का संरक्षक वरिष्ठ साहित्यकारहरु वेदमणि घिमिरे, श्रीहरि फुँयाल, नरेन्द्रराज पौडेल, गंगा पौडेल आदिले शुभकामना दिएका थिए । कार्यक्रममा बुनू लामिछानेले महाकाव्यको अंशबाट केही श्लोक वाचन गरेकी थिइन् ।
प्रकाशित समय १९:३४ बजे