MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि अझै थप ६ खर्ब लाग्छ : सिइओ ज्ञवाली

काठमाडौं । २०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि अझै थप ६ खर्ब रुपैयाँ लाग्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी कामहरु सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लाग्ने बताएका हुन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्षभित्रसम्ममा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको जानकारी दिए । प्राधिकरणले पुनर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
२०७३ साल वैशाखमा तयार पारिएको विपद्पश्चातको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आँकलन गरिएको थियो । नेपालको पुनर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुकसहित दातृ निकायहरुले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब उद्धार तथा राहतसहितका कार्यक्रममा खर्च भई ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ । ‘पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुसारको रकम जुटाउन पहल गर्छौं’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने– ‘पुनर्निर्माणका कामहरु अघि बढ्दै गर्दा आवश्यक रकम जुटाउन सहज हुनेछ ।’
अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । कार्यक्रममा मिसनमा एसिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङलगायत सहभागी थिए । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका सहसचिव पिताम्बर घिमिरे सहित शाखा प्रमुखहरुको समेत सहभागिता थियो ।

प्रकाशित समय २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु